८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

सेरेना पहिलो चरणमै

सेरेनाविरुद्ध सट प्रहार गर्दै इमा राडुकानु । तस्बिर: एएफपी

सेरेना विलियम्स मंगलबार युएस ओपन च्याम्पियन इमा राडुकानुसँग सिनसिनाटी मास्टर्सको पहिलो चरणमा नै स्तब्ध भएपछि उनको यादगार करियरको दुखद अन्त्य हुने सम्भावना नजिकिएको छ।

सेरेनाले यसै महिना युएस ओपन खेलेपछि संन्यास लिने संकेत गत हप्ता नै गरिसकेकी छिन् र उनले सन् २०१७ यता कुनै पनि ग्रान्ड स्लाम पनि जितेकी छैनन्। लगातार खराब नतिजा सामना गरेपछि खेलाडी जीवन अन्त्यको संघारमा रहेकी सेरेना बुधबार पनि निरास भइन्।

उनी राडुकानुसँग सोझो सेटमा नै पराजित हुन पुगिन्। पहिलो पटक ब्रिटेनकी युवा स्टार राडुकानुसँग खेलेकी ४० वर्षीया सेरेनाले ६-४ र ६-० नै खेल सुम्पिइन्। त्यो हारपछि सेरेनाले टेलिभिजन पत्रकार र पत्रकार सम्मेलन बहिस्कार गरिन्। राडुकानुले दुवै सेटमा सेरेनामाथि रबाफ बनाउँदै विजय रचिन्।

यो जित सेरेनामाथि उनको पहिलो हो, जुन अन्तिम पनि बन्न सक्छ। किनकि २३ ग्रान्ड स्लाम विजेता सेरेना छिट्टै करियरको अन्त्य गर्दै छिन्। ‘पहिलो अंकदेखि अन्तिमसम्म म निकै नर्भस थिएँ,’ राडुकानुले भनिन्, ‘सेरेना निकै खतरनाक खेलाडी हुन्। उनीसँग जस्तोसुकै स्थितिमा पनि खेल उल्ट्याउने क्षमता छ। त्यसैले खेलमा केन्द्रित भइरहन आवश्यक थियो र म आफ्नो योजना अनुसार  काम गर्न सफल पनि भएँ।’

सन् २०१४ र  ०१५ मा यहाँ यसै स्थानमा उपाधि जितेकी सेरेनाको सन् २०२२ मा यो चौथो प्रतिस्पर्धा पनि हो। विम्बल्डनमा चोटपछि उनले आफ्नो सिजन सुरुआत गरेकी थिइन्। राडुकानुले खेलको सुरुदेखि अन्त्यसम्म सेरेनाको माया पाउने र कुनै समय पनि त्यसमा कमी हुन नदिने लक्ष्य राखेकी थिइन्।

गत सेप्टेम्बरमा युएस ओपन उचालेयता राडुकानुले १४ जित र १७ हार सामना गरेकी छन्। उनले क्वालिफाइङबाट प्रतिनिधित्व गर्दै युएस ओपनको सफलता पाएकी हुन्। व्यावसायिक करियरको अन्त्यमा रहेकी सेरेनासँग खेल्न पाउनुलाई राडुकानुले सम्मानित महसुस गरेकी छन्।

‘हामी सबैले सेरेनाको सम्मान गर्नुपर्छ, जसले यादगार करियर बनाएकी छन्,’ राडुकानुले भनिन्, ‘उनीसँग खेल्न पाउनुलाई म भाग्यमानी ठान्छु। उनी करियरको अन्त्यमा छिन्, म सुरु गर्दै छु। उनले जे प्राप्त गरेकी छन्, त्यो हाम्रा लागि उत्प्रेरणा हो। त्यसैले उनीसँग कोर्टमा खेल्नु नै सम्मानित हुनु हो।’

राडुकानुले सेरेनासँग यसअघि कहिल्यै खेलेकी थिइनन्। तर, पहिलो भेट नै उनका लागि यादगार बन्यो। विश्वको दशौं वरीयता प्राप्त लन्डनकी युवा राडुकानुले पहिलो सेटमा सेरेनाविरुद्ध ४-१ को अग्रता लिएकी थिइन्। राडुकानुले पहिलो सेटमा एक मात्र गल्ती गरिन्। तर, सेरेनाले भने दर्जनौं गल्ती गरिरहिन्। सेरेनाकी दिदी भेनसले पनि अघिल्लो दिन हार बेहोरेकी थिइन्। 

प्रकाशित: २ भाद्र २०७९ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App