coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

एनसिसी डेनमार्कलाई उपाधि

 एनआरएनए एनसिसी डेनमार्कले चौथो एनआरएनए कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

  गैरआवासीय नेपाली संघ स्विडेन र स्टकहोल्मको भिकिङ यती क्लबसँगको सहकार्यमा आयोजित प्रतियोगितामा डेनमार्कले नर्वेको आइस एफसीलाई फाइनलमा अतिरिक्त समयमा २–१ ले हराएर उपाधि उचाल्यो। निर्धारित समय १–१ को बराबरीपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

  विजेताले १२ हजार र उपविजेताले सात हजार स्विडिस क्रोनर नगद पुरस्कार जिते। फेयर प्लेको उपाधि धौलागिरि टिम स्विडेनले जितेको थियो।  त्यसबापत उसले एक हजार क्रोनर नगद पुरस्कार पायो। उत्कृष्ट खेलाडी र गोलरक्षक क्रमशः एनआरएन डेनमार्कका सरोज श्रेष्ठ र भुवन खड्काले जितेका छन्।  

सर्वाधिक गोलकर्ताको उपाधि आइस एफसी नर्वेका जुरासिक मौसमले पाए। इमर्जिङ प्लेयरको उपाधि एनआरएनए स्विडेनका दीपक रोक्काले जिते। रेफ्रीद्वय सञ्जय कार्की र बेन्जामिन एरिसेले निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगितामा स्विडेनबाट चार टिम तथा नर्वे र डेनमार्कबाट १-१ टिमले प्रतिस्पर्धा गरे। युरोपभर बसोबास गर्ने गैरआवासीय नेपालीलाई खेलकुदका माध्यमबाट एकताबद्ध गर्दै युवा तथा बालबालिकामा खेलप्रति अभिरुचि बढाउन यस प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। स्विडेनमा रहेका नेपाली बालखेलाडीलाई दुई टिममा राखेर प्रतिस्पर्धा गराइएको थियो।  

सिनियर ६ टिमले दुई समूहमा रहेर लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए। गैरआवासीय नेपाली संघ डेनमार्कका वर्तमान अध्यक्ष शैलेन्द्र (शैलु) अधिकारी, गैरआवासीय नेपाली संघ नर्वेका वर्तमान महासचिव विष्णु गौतम तथा आइसिसी सदस्य राजु अर्याल र निवर्तमान अध्यक्ष दिनेशकुमार श्रेष्ठलगायत शुभकामना मन्तव्य दिएका थिए। प्रतियोगिता सफल पार्न विशेष भूमिका निर्वाह गरेका शैलेशमणि उपाध्याय, पूर्णबहादुर थापा, फोटोग्राफर अनिश ताम्राकार र निर्जल खड्कालगायतलाई सम्मान गरिएको थियो। गैरआवासीय नेपाली संघ स्विडेनका अध्यक्ष राजकुमार पाठकले प्रतियोगितालाई निरन्तरता दिने बताए। 

प्रकाशित: २४ श्रावण २०७९ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App