नेपाल आर्मीका दिनेश बुढामगर र बाग्मती प्रदेशकी रुबिका खड्का आइतबार आइटिएफ तेक्वान्दोअन्तर्गत वर्ष २०७८ को उत्कृष्ट खेलाडी घोषित भएका छन्।
पोखरा रंगशालामा आइतबार सम्पन्न अवार्ड कार्यक्रममा विभागीय टोलीका दिनेश पुरुषमा र बाग्मतीकी रुबिका महिलातर्फ आइटिएफको वर्ष २०७८ को उत्कृष्ट खेलाडी घोषित भएका हुन्। रुबिका पनि केही वर्षअघि आर्मीबाट प्रतिनिधित्व गर्थिन्। नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ)ले आफ्नो २५औं वार्षिकोत्सव तथा रजत जयन्तीका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो। जसअन्तर्गत हरेक वर्षझैं महासंघले वर्ष २०७८ बाट दुई जना खेलाडीलाई अवार्ड प्रदान गरेको हो। दिनेश र रुबिकाले गत वर्ष सम्पन्न गिरिजाप्रसाद कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण विजेता हुन्।
महासंघले गत वर्षकै सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा यस प्रतिस्पर्धालाई लिँदै त्यसमा स्वर्ण विजेतालाई अवार्ड प्रदान गर्यो। बाग्मतीका खेलाडी रिक्सन तामाङ उदीयमान खेलाडी घोषित भए। उनले सम्मानपत्र प्राप्त गरे। महासंघले वर्ष प्रशिक्षकको अवार्ड प्रदेश-१ का राजेन्द्र चौधरीलाई प्रदान गरेको छ। यस वर्ष सबैभन्दा धेरै खेलाडी उत्पादन गरेबापत उनलाई उक्त अवार्ड दिएको महासंघले जनाएको छ। उत्कृष्ट वर्ष खेलाडी र प्रशिक्षकले समान १० हजार नगद पुरस्कार र सम्मानपत्र प्राप्त गरे। महासंघले स्थापनाकालदेखि आइटिएफ तेक्वान्दोमा योगदान पुर्याएबापत प्रशिक्षक गोपाल श्रेष्ठलाई आउटस्ट्यान्डिङ अवार्ड प्रदान गर्यो।
त्यसबापत उनले मेडल र सम्मानपत्र प्राप्त गरे। आइटिएफ तेक्वान्दोकै पहिलो राष्ट्रिय एकेडेमी निर्माण गर्न योगदान गरेका रामेछापको खाँडादेवी गाउँपालिकाका पूर्वप्रमुख प्रेम तामाङ पनि सो अवसरमा सम्मानित भएका थिए। नवलपुर जिल्ला आइटिएफ तेक्वान्दो संघ वर्ष २०७८ को उत्कृष्ट जिल्ला संघ घोषित भयो। उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेपकै बोर्ड सदस्य समेत रहेका नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अञ्जना धमला र गण्डकी प्रदेशका सदस्यसचिव तेज गुरुङलगायतले सम्मान गरेका थिए।
हृदयाघातका कारण निधन भएका प्रमुख प्रशिक्षक एवम् उपाध्यक्ष अन्जुनाथ श्रेष्ठप्रति सम्मान कार्यक्रममा महासंघले श्रद्धासुमन अर्पण गरेको थियो। दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष समेत रहेका धमलाले हरेक वर्ष काठमाडौंमा विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाए पनि यस वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका कारण खेलमय बनेको पोखरा खेलाडीलाई सम्मान गर्न पाउनु खुसीको क्षण भएको प्रतिक्रिया दिए। राखेपका सदस्यसचिव घिसिङले आइटिएफ महासंघ राखेपभित्रकै सबैभन्दा सक्रिया संघमध्ये एक रहेको उल्लेख गर्दै यस खेल विकासमा महासंघले थप सफलता पाउने विश्वास व्यक्त गरे।
प्रकाशित: २३ श्रावण २०७९ ०१:५८ सोमबार