आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको ४ सय मिटर दौडमा हिमरश्मिका अंकित अधिकारी र न्युटनकी अनिता बुढाले बिहीबार स्वर्ण जितेका छन्।
अंकित छात्र तथा अनिता छात्रामा पहिलो भएका हुन्। हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको प्रतिस्पर्धामा अंकितले निर्धारित दूरी ६२.१४ सेकेन्डमा पूरा गरे।
न्यु एराका पेम्बा तमु र ज्ञान मन्दिरका विकास गुरुङ तेस्रो भए। अनिताले १ मिनेट १६ सेकेन्डमा निर्धारित दूरी तय गरिन्। कौशलकी रोशिका महराले रजत र विभूतिकी वर्षा श्रेष्ठले कांस्य जिते।
अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा भइरहेको प्रतियोगतिाको छात्र १ सय मिटर दौडमा कौशलका करण भुल १२.५२ सेकेन्ड समयसाथ पहिलो भए। सेक्रेड हार्टका विक्रान्त खतिवडा दोस्रो र विभूतिका सुप्रित सापकोटा तेस्रो बने।
सोही स्पर्धाको छात्रामा कौशलकी सेमिनु लामाले निर्धारित दूरी १५.२८ सेकेन्डमा पूरा गर्दै पहिलो भइन्। प्रगतिकी दिप्शिका थापा दोस्रो तथा हिमरश्मिका सविना थापा तेस्रो भए।
छात्र हाइजम्पमा विभूतिका पुजन परियार पहिलो भए। उनले १.५४ मिटर उचाइ नाघे। हिमरश्मिका आदर्श थिङ र ज्ञान मन्दिरका सृजन खत्री तेस्रो स्थानमा रहे। सो स्पर्धाको छात्रामा कौशलकी सेमिनु लामा पहिलो भइन्। विभूतिकी रितिका थारु दोस्रो तथा हिमरश्मिकी सुविशा थापा तेस्रो भए। छात्र लङजम्पमा ज्ञान मन्दिरका सुसन थापा मगर ४.८१ मिटरसाथ पहिलो भए।
विभूतिका पासाङ तामाङ दोस्रो र हिमरश्मिका मजिल बोगटी तेस्रो भए। उक्त स्पर्धाको छात्रामा हिमरश्मिकी आयुष्मा तामाङ ३.५९ मिटरसाथ शीर्ष स्थानमा रहिन्। कौशलकी रोशिका महरा दोस्रो र ज्ञान मन्दिरकी प्रगति भुजेल तेस्रो बने।
सटपुटको छात्रमा ज्ञान मन्दिरका आर्यन गुरुङले स्वर्ण, विभूतिका संविधान चौधरीले रजत र हिमरश्मिका सलोन रसाइलीले कांस्य जिते। त्यसै स्पर्धाको छात्रामा सेबकी मोनिका गुरुङ पहिलो, विभूतिकी निग्मा शेर्पा दोस्रो र सेक्रेड हार्टकी सोनिया तामाङ तेस्रो भए। एथलेटिक्सको अन्तिम दिन शुक्रबार ८ स्पर्धाको फाइनल हुनेछ।
खेलकुद महोत्सवअन्तर्गत ३ स्पर्धा समावेश ब्याडमिन्टनको सेमिफाइनल समीकरण तयार भएको छ। छात्र/छात्रा सिंगल्स र मिक्स डबल्समा सेमिफाइनल समीकरण पूरा भएको आयोजकले जनाएको छ। ब्याडमिन्टन पनि शुक्रबार नै सम्पन्न हुनेछ। त्यसपछि फुटसल र भलिबलको प्रतिस्पर्धा सुरु हुनेछ।
प्रकाशित: २५ पुस २०८२ १०:२१ शुक्रबार





