१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपालको ब्याटिङ समस्या पुरानै: सन्दीप

आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण सकेर नेपाल फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ब्याटिङ समस्या पहिलेदेखिकै भएको र अहिले दोष देखिएको बताएका छन्।

स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित भ्रमण सकेर मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि कप्तान सन्दीपले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकार गरे। कप्तान सन्दीपले स्कटल्यान्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको बताउँदैे ब्याटिङ समस्या पहिलेदेखि नै भएको र अहिले आएर दोष देखिएको बताएका हुन्।

‘टोलीमा अहिले युवा खेलाडीको बाहुल्य छ। सबै खेलाडी क्षमतावान् पनि छन्। तर अनुभवको कमी छ। बलिङ सन्तोषजनक भए पनि ब्याटिङ चल्न सकेको छैन। हाम्रो टोलीको ब्याटिङको समस्या पहिलेदेखि नै हो। अहिलेको टोलीमा दोष देखिएको छ,’ कप्तान सन्दीपले भने, ‘सबैमा सम्भावना भए पनि हामीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनौं। मेरो विचारमा हामी सबैले आफ्नो प्रदर्शनलाई समीक्षा गर्दै अगाडि बढ्नुपर्छ।’

शृंखलामा बलिङतर्फ औसत प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपालको खराब प्रदर्शन रह्यो। ब्याटिङमा अपेक्षा गरिएका दीपेन्द्रसिंह ऐरीको ब्याट चल्नै सकेन। उता प्रशिक्षक पुबुदु दाशानायकेले भ्रमण सोचेजस्तो नभए पनि अनुभवको आधारमा भने निकै सकारात्मक भएको प्रतिक्रिया दिए। टोलीमा अहिले युवा खेलाडीको बाहुल्य भएकाले अनुभवको धेरै खाँचो रहेको बताए।

आयोजक स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक शृंखला खेलेर नेपाली टोली फर्किएको हो। स्कटल्यान्ड भ्रमणको क्रममा नेपालले चार खेल खेलेको थियो। जसअन्तर्गत नेपालले एक खेलमा सुखद नतिजा निकाल्दा बाँकी तीन खेल गुमाएको थियो। नामिबियासँग दुवै खेल गुमाएको नेपालले घरेलु टोलीसँगको पहिलो खेलमा सुखद नतिजा निकाल्दा अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो।

शृंखलामा बलिङतर्फ औसत प्रदर्शन गरे पनि ब्याटिङमा भने नेपालको प्रदर्शन खराब रह्यो। तालिकामा २० खेल खेलेर १७ अंक जोडेको नेपाल छैटौं स्थानमा छ। तालिकाको शीर्ष स्थानमा रहेको ओमानले लिग २ का सबै खेल खेलिसक्दा ३६ खेलबाट ४४ अंक जोडेको छ। दोस्रो स्थानको स्कटल्यान्डले २४ खेलबाट ३४, तेस्रो स्थानको संयुक्त अरब इमिरेट्स (युएई) ले २२ खेलबाट २६, चौथो स्थानको अमेरिकाले २४ खेलबाट २३, पाँचौं स्थानको नामिबियाले १८ खेलबाट १८ र पुछारमा रहेको पपुवा न्युगिनी (पिएनजी) ले २० खेलबाट २ अंक जोडेका छन्।

प्रकाशित: ४ श्रावण २०७९ ०१:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App