जर्मनीले महिला युरो कप २०२२ मा आफ्नो शतप्रतिशत नतिजालाई तेस्रो खेलसम्म कायम राख्ने क्रममा फिनल्यान्डमाथि ३-० को जित निकाल्दै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गर्दा अर्को खेलमा डेनमार्कलाई हराउँदै स्पेनले इङ्ल्यान्डसँगको भेट पक्का गरेको छ।
यसअघि नै क्वार्टरफाइनमा स्थान बनाएको जर्मनीको समूह ‘बी’ मा तीन खेलबाट नौ अंक रह्यो। समान खेलमा दुई जित र एक हारको नतिजासहित ६ अंक जोडेको स्पेन समूह ‘बी’ को उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो। आठ पटकको विजेता जर्मनीको सहज जितमा सोफिया केलेनहेर्ने, एलेक्सान्ड्रा पोप र निकोली एनियोमीले समान एकएक गोल गरे।
जर्मनीले बिहीबार ब्रेन्टफोर्डको कम्युनिटी स्टेडियममा हुने क्वार्टरफाइनलमा अस्ट्रियाको सामना गर्नेछ। जर्मनीले समूहचरणको पहिलो खेलमा डेनमार्कलाई ४-० ले हराएको थियो भने दोस्रो खेलमा स्पेनलाई २-० ले हराएको थियो।
मार्टा कार्डोनाको निर्णायक गोलको सहयोगमा लिगको अन्तिम खेलमा डेनमार्कलाई स्तब्ध बनाएको स्पेन समूह उपविजेताका रूपमा नकआउट चरण प्रवेश गरेको हो। यससँगै समूह ‘ए’ को विजेता इङ्ल्यान्डसँगको भेट पक्का गरेको हो।
यसअघि नै युरो कपबाट बाहिरिएको डेनमार्क सुखद अन्त्यको खोजीमा मैदान उत्रिएको थियो। तर कार्डोनाले गरेको गोल निर्णायक बन्दा डेनमार्कको इच्छा पूरा हुन सकेन। डेनमार्कविरुद्ध निर्णायक गोल गरेकी कार्डोनाले फुटबल हेर्ने सबैलाई विजयी गोल समर्पित गर्न चाहेको बताइन्। उनले ८९औं मिनेटमा टोलीका लागि विजयी गोल गरेकी थिइन्।
‘निर्णायक गोल जसले हामीलाई समर्थन गर्नुभएको छ उहाँहरूका लागि समर्पण गर्न चाहन्छु। विशेषतः ब्रेन ट्युमर भएर खेल गुमाएकी समकक्षी भर्जिनिया टोरेसिलियालाई सम्झन चाहन्छु,’ कार्डोनाले भनिन्, ‘समूहचरण निकै कठिन भयो। अब पनि चुनौती प्रशस्त छन्। सामना गर्दै अगाडि बढ्नु छ ।’
प्रकाशित: २ श्रावण २०७९ ०१:२३ सोमबार