१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट लिग दुई : नेपाल स्कटल्याण्डसँग पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग पराजित भएको छ।  

स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको हो। नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

स्कटल्याण्डका लागि कलुम म्याकलिओडेले सर्वाधिक ६४ रनको योगदान दिए। २९ बलमा उनले १० चौका र ३ छक्कासहित ६४ रनको योगदान दिएका हुन। त्यस्तै काइल कोट्जरले ४४ रन जोडे। ५२ बल खेलको उनले ७ चौकाको मद्दतमा ४४ रन जोडेका हुन। नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटिएको थियो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने सन्दीप लामिछाने २२ रनमा आउट भए। विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०/१० रन बनाए।

ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए। आरिफ शेख शून्य रनमा आउट भए। स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए। गाभिन मेनले २ विकेट झारे।

त्रिकोणात्क एकदिवसीय सिरिजमा नेपालले तीन खेलमा हार र एक खेलमा जीत हात पार्‍यो। नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो। त्यस्तै नेपाल नामिबियासँग ४० र ६३ रनले पराजित भएको थियो। 

प्रकाशित: १ श्रावण २०७९ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App