१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

लिड्सलाई राफिन्हाको अभाव खड्कन सक्छ

लिड्स युनाइटेडले आफ्ना स्टार खेलाडी राफिन्हाबिनै इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरुआत गर्ने भएको छ। लिड्स बिहीबार राफिन्हालाई स्पेनिस ला लिगाको क्लब बार्सिलोनालाई ४९ मिलियन पाउन्डमा बेच्न सहमत भएको थियो। उनी पाँच वर्ष क्याम्प नोउमा रहनेछन्।

राफिन्हाले लिड्समा दुई सिजन मात्र बिताएका छन् तर पनि ब्राजिलका विंगर इल्यान्ड रोडमा सर्वकालीन खेलाडी रहिरहनेछन्। सहजै गोलको अवसर सिर्जना गर्ने र त्यसलाई फिनिसिङसमेत गर्ने क्षमता राख्ने राफिन्हालाई अन्यत्र जान दिनु जेसी मार्चसको टोलीका लागि ठूलो घाटा बन्न सक्छ। लिड्सले उनको स्थानमा फेयनुर्डका विंगर लुइस सिनिसेट्रालाई अनुबन्धित गरिसकेको छ।

राफिन्हा लिड्सका लागि कति महत्त्वपूर्ण थिए र उनी अनुबन्धित भएको बार्सिलोनाले नयाँ सिजनमा कस्तो प्रदर्शन गर्छ सबैका लागि प्रतीक्षाको विषय बनेको छ। राफिन्हाले क्लब छोडेसँगै लिड्स नयाँ गोलकर्ताको खोजीमा हुनेछ। राफिन्हा सन् २०२० मा फ्रेन्च लिग वान क्लब रेनिसबाट १७ मिलियन पाउन्डमा लिड्समा भित्रिएका थिए। लिड्सले प्रिमियर लिगको पछिल्लो दुई सिजन गरेको गोलमा उनको भूमिका महत्त्वपूर्ण थियो।

उनले लिड्सबाट १७ गोल गरेका थिए भने १२ गोलका लागि असिस्ट गरेका थिए। राफिन्हाकै उत्कृष्ट प्रदर्शनमा लिड्सले प्रिमियर लिगमा पुनरागमन गरेको थियो। त्यस्तै गत सिजन अन्तिम खेलमा ब्रेन्टफोर्डलाई २–१ ले हराउँदै प्रिमियर लिगको रेलिगेसनको संकट टारेको लिड्सका लागि राफिन्हाको गोल महत्त्वपूर्ण बनेको थियो।

‘बार्सिलोना र लिड्स युनाइटेड फुटबल क्लब राफेल डियास बेनोल्ली राफिन्हाको सरुवाका लागि सैद्धान्तिक सहमतिमा पुगेका छन्। उनको स्वास्थ्य परीक्षणपछि औपचारिक घोषणा हुनेछ,’ बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। फेब्रुअरीमा मार्सेलो बिइल्सा बर्खास्त भएपछि टोलीको प्रशिक्षण सम्हालेका मार्चसले टोलीको शीर्ष लिगमा पुनरागमन र गत सिजन प्रिमियर लिगको हैसियत जोगाइराख्न राफिन्हाले खेलेको भूमिकाका कारण पनि उनी लिड्सको सर्वकालीन खेलाडी रहने प्रतिक्रिया दिए।

‘म राफिन्हाको बारेमा यत्ति मात्र भन्न चाहन्छु। उनी क्लबकै सर्वकालीन खेलाडी हुन् र उनी बाहिरिँदा टोलीलाई ठूलो क्षति पुगेको छ,’ मार्चसले भने, ‘सम्भवतः हामी घटुवा भएको भए उनीमाथि कुनै क्लब पनि इच्छुक हुँदैनथ्यो होला। आज हामी जहाँ छौ, उनको भूमिका महत्त्वपूर्ण छ। उनी जुन टोलीबाट खेल्छन्, त्यसमा पूर्ण रूपमा प्रतिबद्ध छन्। यो उनको विशेष क्षमता हो। हामी उनीप्रति आभारी छौं।’

बार्सिलोनाले नयाँ सिजनका लागि क्याम्प नोउ भित्र्याएको राफिन्हा तेस्रो खेलाडी हुन्। बार्सिलोनाले यसअघि एसी मिलानका रक्षक फ्रांक केइसे र चेल्सीका रक्षक आन्द्रियास क्रिस्टेनसेनलाई भित्र्याइसकेको छ। लिड्सबाट बाहिरिने भने उनी दोस्रो खेलाडी हुन्। लिड्सका मिडफिल्डर काल्भिन फिलिप्स प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीमा गएका थिए। यसैबीच बार्सिलोनाले औसामाने डेम्बेलेसँगको सम्झौता नवीकरण भएको घोषणा गरेको छ। बिबिसी

प्रकाशित: ३१ असार २०७९ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App