१६ चैत्र २०८० शुक्रबार
खेल

ट्युनिसियाको युवाका प्रेरणा जुबेर

ट्युनिसियाकी ओन्स जुबेरले दर्शकदीर्घातर्फ आफ्नो मोबाइलको स्किन तेर्साउँदै एउटा तस्बिर  देखाइन्, जुन विम्बल्डनमा महिलातर्फको विजेतालाई प्रदान गरिने ट्रफी रहेको थियो।

‘आफ्नो खेलजीवनकै पहिलो ग्रान्ड स्लाम जित्ने उद्देश्यले मैले यो वर्षको सुरुआतबाटै मिहिनत गरेको थिएँ,’जुबेरले भनिन्, ‘म विम्बल्डनको उपाधि जित्नमा केन्द्रित थिएँ। तर, यसपटक यो ट्रफी मेरा लागि लेखिएको थिएन। आज मेरा लागि सुखद दिन रहेन। म उपविजेतामा नै सीमित भएँ।’

जुबेरसामु ग्रान्ड स्लाम जित्ने पहिलो अफ्रिकन वा अरबी महिला खेलाडी बन्ने सुनौलो अवसर समेत थियो। शनिबार उनले सो अवसरको सदुपयोग गर्न सकिनन्।

पहिलो सेट जिते पनि दोस्रो सेटबाट भने उनले लय गुमाइन्। अल इङ्ल्यान्ड क्लबमा सम्पन्न फाइनलमा उनी २३औं वरीयता प्राप्त कजाखस्तानकी इलिना रिबाकिनासँग ३-६, ६-२ र ६-२ ले स्तब्ध भइन्। ‘मलाई थाहा छ की म यो हारबाट पाठ सिक्दै सहजै अघि बढ्न सक्छु,’जुबेरले भनिन्, ‘म एकदिन अवश्य ग्रान्ड स्लाम जित्नेछु। यो टेनिस हो र यहाँ हारजित खेलको अंग हो। पक्कै पनि मैले यसबाट पाठ सिक्नुपर्छ।’

रिबाकिनासँग हारसँगै जुबेरको घाँसे कोर्टमा १२ खेल देखिको अपराजित यात्रामा समेत पूर्णविराम लाग्यो। समग्रमा भने उनले २३ खेलमा २२ जित निकालिन्। ‘म पहिलो सेटमा केही निराश पनि थिएँ,’पहिलो ग्रान्ड स्लाम जितेपछि रिबाकिनाले भनिन्, ‘पक्कै पनि ओन्सले राम्रो खेलिन्। मलाई लयमा फर्कन समय लाग्यो।’ पहिलो सेट गुमाएपछि रिबाकिनाले उत्कृष्ट पुनरागमनमा विम्बल्डनको उपाधि पक्का गरिन्। यता पहिलो सेटमा जित निकालेसँगै जुबेरले भनेकी थिइन्, ‘हे अल्लाह, अब अर्को सेटको लागि जाँदै छु।

’जुबेर इतिहास रच्न असफल भइन्। तर, आफ्नो देशको युवा पुस्ताका लागि प्रेरणा बन्न सकेकोमा उनी निकै खुसी भएकी छन्। ‘म निकै खुसी छु। किनभने म मेरो देशका युवा पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सकें,‘जुबेरले भनिन्, ‘आशा छ अल्लाहले मलाई सुनिरहनुभएको छ।’ विम्बल्डन दौरान प्रत्येक सेट जित्दा जुबेरले देखाउने हाउभाउका कारण उनले ‘मिनिस्टर अफ ह्यापिनेस’को उपनाम पाएकी थिइन्।

‘म विम्बल्डनको उपाधि संघारमा पुगिसकेको थिएँ,’जुबेरले भनिन्, ‘म सकारात्मक सोच राख्ने व्यक्ति हुँ। विम्बल्डनमा गरेको प्रदर्शनले मेरो मनोबल बढेको छ।’ अब जुबेरको लक्ष्य अगस्ट २९ मा न्युयोर्कमा सुरु हुने वर्षको अन्तिम ग्रान्ड स्लामको रूपमा रहेको युएस ओपनको उपाधि जित्नु हो।

प्रकाशित: २७ असार २०७९ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App