८ वैशाख २०८१ शनिबार
खेल

माने बायर्न जान जर्मनीमा

जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखमा अनुबन्धित हुनका लागि इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलका फरवार्ड साडियो माने मंगलबार निजी जेट विमानबाट जर्मनी पुगेका छन्।

बायर्न म्युनिखमा अनुबन्ध हुन लागि माने मेडिकल गर्न जर्मनी पुगेका हुन्। मानेले मंगलबार नै मेडिकल गर्ने बताइएको छ। मेडिकलपछि उनले बायर्नसँग सम्झौता गर्ने तालिका रहेको त्यहाँको एक प्रतिष्ठिन दैनिक पत्रिकाले उल्लेख गरेको छ। ३० वर्षीय मानेलाई लिभरपुलले ४१ मिलियन युरोमा माने बेच्न सहमत भएको थियो।

लिभरपुलले पछिल्ला ६ वर्षमा जितेको सबै प्रमुख उपाधिमा मानेको मुख्य भूमिका थियो। यस सिजनको अन्त्यतिर मानेसँगै मोहम्मद सालाह र रोबेर्टो फिर्मिनोको लिभरपुल बसाइबारे धेरै चर्चा भयो। साउथह्याम्पटनबाट लिभरपुलमा अनुबन्धित भएसँगै पहिलो सिजनमा मानेले टोलीका लागि १३ गोल गरेका थिए। सो सिजन लिभरपुल दुई वर्षको अन्तरपछि च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको थियो।

त्यसको दुई वर्षपछि लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जित्यो भने सन् २०१९–२० सिजनमा प्रिमियर लिगको उपाधि जितेको थियो। जुन, लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगमा हात पारेको पहिलो सफलता थियो। लिभरपुल दुई पटक च्याम्पियन्स लिगको उपविजेता बन्यो भने प्रिमियर लिगमा पनि दुई पटक नै उपविजेतामा खुम्चियो। २०२१–२२ सिजनमा भने लिभरपुलले एफए कप र इङ्लिस लिग कपको उपाधि जित्यो।

३० वर्षीय फरवार्डले जर्मन च्याम्पियनसँग ३ वर्षको सम्झौता गर्न सक्ने बताइएको छ। माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए। २०१६ मा अनुबन्धित भएका मानेले लिभरपुलका लागि सबैखाले खेल गरेर कुल १ सय ९६ खेल खेलेका छन् भने ९६ गोल मानेको नाममा रहेको छ। यस्तै अफ्रिकन राष्ट्र सेनेगलका लागि मानेले २०१२ देखि खेल्दै आएका छन्। राष्ट्रका लागि ९१ खेल खेलेका मानेले ३३ गोल गरेका छन्। 

प्रकाशित: ८ असार २०७९ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App