१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इन्दु र रुबिनाको साझेदारीमा नेपालको जित

कप्तान रुबिना क्षेत्री र उपकप्तान इन्दु बर्माको अर्धसतकीय साझेदारीमा नेपालले शनिबार कुवेतमाथि २५ रनको जित निकाल्दै एसिसी महिला ट्वान्टी–२० क्रिकेट च्याम्पियनसिपमा दोस्रो सफलता निकालेको छ।

यी दुईकै साझेदारी प्रेरणामा नेपालले मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा १ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जुन लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८२ रन मात्र जोडेपछि नेपालले दोस्रो जित निकाल्यो।

नेपाली बलरले सुरुदेखि नै कसिलो बलिङ गर्दै कुवेतमाथि दबाब बनाए। यद्यपि, खराब फिल्डिङका कारण नेपाल थप विकेट लिन भने असफल रह्यो। कुवेतकी ओपनर प्रियादा मुरलीले सर्वाधिक ३१ रन जोडे पनि जित दिलाउन भने सकिनन्। ४० बलमा उनले दुई चौका र एक छक्का हिर्काइन्।

खेलकै एक मात्र छक्का प्रियादाले १३.४ ओभरमा प्रहार गरिन्। तर, लगत्तै संगीता राईको अर्को बलमा उनी विकेटकिपर काजोल श्रेष्ठद्वारा क्याच आउट भइन्। कुवेतका थप दुई ब्याटरले मात्र दोहोरो अंकमा रन बटुले। कप्तान अम्ना सरिफ १४ रनमा सीता रानाद्वारा बोल्ड हुँदा मरियम्मा हैदर १६ रनमा नटआउट रहिन्।

३९ बल खेले पनि कप्तान सरिफ बाउन्ड्री प्रहार गर्न असफल भइन्। कुवेतले ४.२ ओभरमा दुई विकेट गुमाउँदा १६ रन जोड्यो। कुवेतले दोस्रो ओभरमा नै मर्‍यम ओमरलाई ५ रनमा गुमायो। उनलाई अस्मिना कमचार्यले डली भट्टद्वारा क्याच गराइन्।

दोस्रो विकेटका रूपमा जिफा आजम ६ रनमा रुविना क्षेत्रीबाट रनआउट भइन्। त्यसपछि कुवेत समालिएर खेल्यो। तर, रनरेट सुधारमा ध्यान नदिएपछि दबाबमा पर्‍यो। तेस्रो विकेटका लागि प्रियादा र कप्तान सरिफले ५७ बलमा ३५ रनको साझेदारी गरे पनि जितका लागि पर्याप्त भएन। नेपालको जितमा अलराउन्ड प्रदर्शन गरेकी उपकप्तान इन्दुले चार ओभरमा एक विकेट लिँदै १४ रन मात्र खर्चिन्। उनले एउटा रनआउट समेत गरिन्। सीताले दुई विकेट तथा संगीता र अस्मिनाको नाममा समान एक विकेट रह्यो।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १ सय ७ रन जोड्यो। १२.३ ओभरमा नेपाल ४७/४ को स्थितिमा थियो। तर, पाँचौं विकेटका लागि कप्तान रुविना र इन्दुले अविजित अर्धसतकीय साझेदारी गर्दै नेपालको इनिङलाई सय रनको आँकडा पार गराए।

यो जोडीले ४७ बलमा ६० रन बटुले। रुविनाले २७ बलमा चार चौकासहित ३४ रन हिर्काइन्। ३३ बल खेलेकी इन्दु २८ रनमा नटआउट रहिन्। उनको इनिङमा दुई चौका मात्र रह्यो। त्यसअघि नेपालले पहिलो विकेटका लागि १९ रन जोड्यो।

मर्‍यम ओमारले ओपनर विन्दु रावललाई ११ रनमा आउट गर्दै नेपाललाई पहिलो झड्का दिइन्। त्यसपछि आएकी अनुभवी ब्याटर सीता पनि ५ रनमै पवेलियन फर्किइन्। अर्की ओपनर ज्योति पाण्डेले १५ रन जोड्दा विकेटकिपर काजोल ५ रनमा एलबिडब्लु शिकार भइन्।

कुवेतका बलरले सुरुमा कसिलो बलिङ गरे पनि इनिङको अन्त्यसम्म जारी राख्न सकेनन्। तथापि, मरियम्मा हैदरले चार ओभरमा दुई विकेट लिँदा १० रन मात्र खर्चिइन्। ओमार र खादिजा खलिलको नाममा समान एक विकेट रह्यो। च्याम्पियनसिपमा सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ र प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा खेल्नेछन्।

नेपालको समूह ‘बी’ मा बहराइन, भुटान, हङकङ र कुवेत छन्। नेपालले तेस्रो खेल सोमबार बहराइनसँग खेल्नेछ। कुवेतको यो दोस्रो खेल हो र बहराइनसँगको पहिलो खेल वर्षाका कारण प्रभावित हुँदा अंक बाँडिएको थियो। दुई खेलमा चार अंकसहित नेपाल समूहको शीर्षमा रहँदा एक खेलबाट हङकङ दुई अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित: ५ असार २०७९ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App