२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ब्याटिङमा फेरि असफल

ब्याटिङमा पुनः एक पटक सम्हालिएको प्रदर्शन गर्न नसक्दा घरेलु टोली अमेरिकासँग ३९ रनको हारका साथ नेपालले बिहीबार आइसिसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको अन्त्य गरेको छ।

नेपालले बिहीबार एक जित, एक टाई र दुई हारसहित अमेरिका भ्रमण समापन गर्‍यो। जसमा नेपालले मात्र तीन अंक जोड्न सक्यो। नेपालले ओमानविरुद्ध एक खेलमा जित र एक खेलमा हारको नतिजा ल्याउँदा अमेरिकाविरुद्धको एक खेल टाई भयो भने अर्को खेलमा अमेरिकाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

नेपाल १६ खेलमा १५ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। ओमान ३६ खेलमा ४४ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानको स्कटल्यान्डको २० खेलमा २८ अंक छ। तेस्रो स्थानको युएईको २२ खेलमा २६ अंक छ भने चौथो स्थानको अमेरिकाको २३ अंक छ। नामिबिया १४ खेलबाट १४ अंकसहित छैटौ स्थानमा छ भने पपुवा न्युगिनी २० खेलमा २ अंकसहित अन्तिम स्थानमा छ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रन मात्र जोड्न सक्यो। नेपालका आरिफ शेखले ६३ र सोमपाल कामीले ४७ रनको योगदान गरे।

१७ रन जोड्दा ओपनर कुशल भुर्तेललाई पहिलो विकेटका रूपमा गुमाएको नेपालले थप २१ रन जोड्दा अर्का ओपनर आसिफ शेखलाई गुमायो। ६९ रन जोड्दा भरपर्दा ब्याटर रोहितकुमार पौडेललाई गुमाएको नेपालका देव खनाल र दीपेन्द्रसिंह ऐरीले पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन्। २१.२ ओभरमा ९३–५ को कठिन स्थितिमा रहेकोे इनिङ आरिफ र सोमपालले छैटौं विकेटका लागि १ सय ६ रनको महत्त्वपूर्ण साझेदारीका साथ नेपाललाई शृंखलामा दोस्रो जिततर्फ डोर्‍याउने संकेत गरेका थिए।

४५औं ओभरमा लगातार दुई विकेट गुमाएपछि भने नेपाल दबाबमा परेको थियो। ४४.४ ओभरमा आरिफलाई गुमाएको नेपालले सोही ओभरको अन्तिम बलमा सोमपाललाई गुमायो। आरिफले ७६ बलमा ३ चौका प्रहार गर्दा सोमपालले ७२ बलमा १ चौका प्रहार गरे। त्यस्तै देवले ४७ बलमा २ चौका र १ छक्का मद्दतमा ३४ रन जोडे।

अमेरिकाका सौरभ र अली खानले समान ३ विकेट लिएका थिए। यसअघि टस जितेर ब्याटिङका लागि आएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रनको योगफल तयार पारेको थियो।

अमेरिकाका गजानन्द सिंहले ५८, सुशान्त मोडानीले ५४ र एरोन जोन्सले ४३ रनको योगदान गरे। नेपालका करण केसीले ९ ओभरमा ६७ रन खर्चंदै ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले १० ओभरमा ४३ रन खर्चंदै २ विकेट लिए। त्यस्तै सोमपाल र दीपेन्द्रले समान १ विकेट लिए।

प्रकाशित: ३ असार २०७९ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App