२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘खेलाडीले आफैं होटल छाडेका हैनन्’

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान नवयुग श्रेष्ठले बन्द प्रशिक्षण दौरान निस्किएका खेलाडीले आफैं होटल छाडेर नहिँडेको बताएका छन्।

एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा सहभागी भएर बिहीबार स्वदेश फर्किएपछि कप्तान नवयुगले पत्रकारसँग कुरा गर्दै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टोलीको बन्द प्रशिक्षणका क्रममा १० खेलाडीलाई होटल छोडेर जान निर्देशन दिएपछि उनीहरूले छोडेको बताएका हुन्।

‘सिनियर खेलाडी होटल छाडेर आफैं गएका हैनन्। म पनि सँगै थिएँ। प्रशिक्षकले खेलाडीलाई जान सक्छौ भनेपछि खेलाडी बाहिरिएका हुन्। यो चित्त बुझ्दो कुरा होइन,’ कप्तान नवयुगले विमानस्थलमा ओर्लिएपछि भने।

नेपाल कुवेतमा सम्पन्न एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको हो। चीनमा आयोजना हुने एसियन कपको छनोटका लागि कुवेत भ्रमण गरेको नेपाली टोली बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाल फर्किएका छैनन्। तीन महिनाको बिदामा प्रशिक्षक कुवेतमा नै रहेका हुन्।

छनोटमा नेपालले तीन खेल खेल्दा नेपाली टोलीले कुनै पनि खेलमा सुखद नतिजा निकाल्न सकेन। नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले अनुभवी सिनियर खेलाडीको अनुपस्थितिमा पनि नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक भएको बताए। केही सिनियर खेलाडीबिना छनोट खेल्न गएको नेपाली टोलीबाट केही नयाँ खेलाडीले अवसर पाएका थिए। कप्तान नवयुगले नयाँ खेलाडीले सुरुआतमा केही डराएर खेलेको तर निरन्तरको अभ्यासपछि भने सबै खेलाडीले राम्रो खेलेको बताए।

‘टिममा प्रायजसो नयाँ भाइ छन्। उनीहरूको प्रदर्शन चित्तबुझ्दो छ। विवाद नेपालमा भए पनि भ्रमण गरिसकेपछि बिर्सियौं,’ कप्तान नवयुगले भने, ‘केही सिनियर खेलाडीबिना जाँदा सुरुआतमा नयाँ खेलाडीले डराए जस्तो प्रदर्शन गरे तर निरन्तरको अभ्यासपछि उनीहरूमा पनि आत्मबल बढ्यो।’

नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित १० सिनियर खेलाडीबिना भ्रमणमा निस्किएको नेपाली टोलीमा राम्रो प्रदर्शनका लागि अनुभवी खेलाडीको अभाव महसुस भएको नवयुगले बताए।

‘भइरहेका खेलाडी टोलीमा नपर्दा केही फरक त परिहाल्छ। नयाँ खेलाडीले राम्रो खेलेर प्रमाणित त गरे तर अनुभवी खेलाडी टोलीमा भएको भए प्रदर्शन अलि राम्रो हुन्थ्यो,’ नवयुगले थपे।

यस्तै नेपाली टोलीका सदस्य पूजन उपरकोटीले युवा टोलीसहितको भ्रमण नयाँ अनुभव लिने अवसर भएको बताए। उता ४० वर्षपछि नेपालले कुवेतविरुद्ध गोल गर्दै इतिहास बनाएका दर्शन गुरुङले बलियो टोलीविरुद्ध गोल गर्न पाउँदा खुसी लागेको बताए।

छनोट प्रतियोगिताभरि नेपालले कुल १३ गोल खाँदा एक गोल फर्कायो। पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो। फिफा वरीयतामा नेपालभन्दा धेरैमाथि रहेको कुवेतविरुद्ध नेपालले चार गोल खाँदा एक गोल इन्जुरी समयमा फर्काएको थियो।

उक्त गोल नेपालले कुवेतविरुद्ध करिब चार दशकपछि फर्काउन सफल भएको थियो। एक मात्र गोल नेपालका युवा खेलाडी दर्शन गुरुङले गरेका थिए। लगातार दुई खेलमा पराजयपश्चात् एएफसी एसियन कपको सम्भावना टरिसकेको अवस्थामा नेपाली टोलीले अन्तिम खेल इन्डोनेसियासँग खेलेको थियो।

उक्त खेलमा नियमित कप्तात नवयुग श्रेष्ठको स्थानमा पुजन उपरकोटीले कप्तानको जिम्मेवारी लिएका थिए। सोही खेलमा नेपालले लज्जास्पद हार भोगेको थियो। ७–० को फराकिलो हारसँगै छनोटको भ्रमण सकाएको थियो।

प्रकाशित: ३ असार २०७९ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App