१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि लड्न आवश्यक छैनः खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन्।

शनिबार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरुको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले यस्तो बताएका हुन्।

उनले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यो भन्दा अगाडिको युवा पुस्ताले संघर्ष गरेर नयाँ व्यवस्था ल्याएको उल्लेख गर्दै अबका युवाले देश विकासको बारेमा संघर्ष गर्नुपर्ने बताए। उनले पानीलाई मात्रै व्यवस्थित गरेर बिक्री गरेमा मात्रै पनि देशका जनताले मासुभात वा दूधभात खानसक्ने अवस्था रहेको र यसको सफल व्यवस्थापनको जरुरी रहेको बताए।

मन्त्री गहतराजले नेपाल विश्वको १७ औँ प्राकृतिक श्रोतको धनी देश भएको उल्लेख गर्दै प्राकृतिक श्रोत र साधनको हिसावले नेपाल समृद्ध रहेको उल्लेख गरे। मन्त्री गहतराजले युवाहरुले सपना देख्दा र नयाँ सोच राख्दा देशलाई अघि बढाउन सकिने उल्लेख गर्दै युवाहरुले देशभित्रै केही गर्न सकिन्छ भनेर संकल्प गर्नुपर्ने बताए।

मन्त्री गहतराजले नेपालमा युवा बौद्धिक जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्नु ठूलो चुनौती रहेको बताए। उनले युवा जनशक्तिलाई रोक्नकै लागि सरकारले देशमा केही ठूला दीर्घकालीन रणनैतिक महत्वका परियोजना ल्याउन लागेको उद्घोष गरे। मन्त्री गहतराजले सरकारले युवा शक्तिलाई नेपालमै राख्न कृषिको आधुनिकीकरण, कृषिलाई प्राथमिकता दिएर त्यसबाट बाहिरसमेत निर्यात बढाउनसक्ने आधार खोज्ने र युुवाहरुलाई त्यस दिशातर्फ केन्द्रित गर्न सरकार लागिपरेको दाबी गरे।

मन्त्री गहतराजले जनशक्तिलाई देशभित्रै रोक्नको लागि उद्योगधन्दा, कलकारखानाको विकास गर्ने, कृषिको आधुनिकीकरण गर्ने, पर्यटन र शिक्षाको आधुनिकीकरण गर्ने र खेललाई  व्यवसायतिर प्रयोग गर्ने ढंगले अघि बढ्नुपर्ने बताए।

युएनडिपीले ललितपुरमा आयोजना गरेको युवासँग अन्तरक्रिया कार्यक्रममा सबै प्रदेशका १८ देखि ३० वर्ष उमेरसमूहका युवाहरुको उपस्थिति थियो।

प्रकाशित: २८ जेष्ठ २०७९ १४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App