१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुलिसलाई हराउँदै विजय यूथ फाइनलमा

विजय यूथ क्लवका पेपेलाई म्यान अफ द म्याच प्रदान गरिँदै।

नेपाल पुलिस क्लवलाई स्तब्ध पार्दै मकवानपुरको विजय यूथ क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा घरेलु दर्शकको साथ पाएको विजय यूथका लागि खेलको ५२ औं मिनेटमा विदेशी खेलाडी पेपेले गरेको गोल नै निर्णायक बन्यो। अमिर श्रेष्ठको कर्नर प्रहारलाई पेपेले हेडमार्फत गोल गरेका थिए।

खेलको १२ औं मिनेटमा पुलिसका रवि पासवानको प्रहार बारमा लाग्दा पुलिस सुरुवाती अग्रता लिनबाट चुक्यो। पहिलो हाफ दुवै टिमले गोलरहित बराबरी खेलेको थियो। ५९ औं मिनेटमा पुलिसले बराबरी गर्ने मौका खेर फाल्यो। रवि पासवानको प्रहारलाई विजय यूथका गोलरक्षक अशोक बरालले एकहातले मुस्किलले बचाए।

७४ औं मिनेटमा विजय यूथ अग्रता दोब्बर बनाउनबाट चुक्यो। विमल रानाले मिलाइदिएको पासमा डोना थापाको प्रहार बाहिरियो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको अतिरिक्त समयमा भोला सिलवालको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता पेपे भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

जारी प्रतियोगितामा शनिबार त्रिभुवन आर्मी क्लव र क्यामरुनको एभिनियर एफसी बीच दोस्रो सेमीफाइनल खेल हुनेछ। यी दुई क्लवबीचको विजेताले ३० गते उपाधि भिडन्त गर्नेछ। स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।  

नेपाल पुलिस क्लवका प्रशिक्षक रविन श्रेष्ठले पाएको मौका सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए। अघिल्लो खेलमा पुलिस क्लवको ३ जनाले ‘रेड कार्ड’ पाएकोले पनि विजय यूथ विरुद्धको खेलमा समस्या भएको उनको भनाई थियो।  

यता विजय यूथ क्लवका प्रशिक्षक विजयलाल श्रेष्ठले पुलिसको खेलाडी र प्रशिक्षकले अघिल्लो खेलमा ‘रेडकार्ड’पाएकोले पनि आफ्नो टिमलाई सहज भएको प्रतिक्रिया दिए। ‘हामीले अग्रता लिएसंगै पुलिसले राम्रै प्रेसर दियो। सम्हालिएर खेल्यौं,’ उनले भने, ‘खेलाडीहरुको कडा मेहनतले फाइलन प्रवेश गयौं।’ यता विजय यूथका कप्तान अशोक बरालले पुलिस १२ महिना नै टे«निङ गर्ने टिम भएपनि जित निकाल्न सकेको भन्दै खुसी व्यक्त गरे।

प्रकाशित: २७ जेष्ठ २०७९ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App