१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

सिमरालाई हराउँदै विजय यूथ सेमिफाइनलमा

विजय यूथका सुनिल घलानलाई म्यानअफ द म्याचप्रदान गरिँदै।

छिमेकी जिल्ला बाराको नव जनजागृति युवा क्लव सिमरालाई ३–० गोलले हराउँदै मकवानपुरको विजय यूथ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार बिहान भएको खेलको पहिलो हाफ गोलरहित बराबरी गरी सकिएकोमा दोस्रो हाफमा विजय यूथले ३ गोल गरेको थियो। विजय यूथका लागि अमिर श्रेष्ठ, संजोग राई र सुनिल घलानले गोल गरेका हुन्। पहिलो हाफको तुलनामा निकै सुधारिएको खेल खेलेको विजय यूथका लागि ५४ औं मिनेटमा अमिरले गोल गरेका हुन्।

उनको प्रहार सिमराका गोल रक्षक दिलमणि चौधरीको हातमा लाग्दै गोल भएको थियो। ६३ औं मिनेटमा संजोगले अग्रता दोब्बर पारे। विमल रानाको प्रहारलाई सिमराका गोल रक्षकले पन्च गरेको बललाई राईले पोष्टको दिशा दिएका हुन्। निर्धारित समयको अन्तिम मिनेटमा विजय यूथले गोल अन्तर बढाउने मौका खेर फाल्यो।

सिमराका डिफेण्डरले अमिर श्रेष्ठलाई लडाएपछि प्राप्त पेनाल्टीलाई श्रेष्ठले पोष्टको दिशा दिन सकेनन्। अतिरिक्त समयमा विजय यूथका सुनिल घलानले डीबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। सिमराले केही राम्रा मौका पाएको भएपनि विजय यूथका डिफेण्डर पेपे, दीपजंग कार्की र गोल रक्षक अशोक बराल बाधक भएका थिए। खेलको म्यानअफ द म्याच विजय यूथका सुनिल घलान भए। उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।  

सिमराका प्रशिक्षक मुन्ना चौधरीले पहिलो हाफ धेरै राम्रो खेले पनि दोस्रो हाफ सोचे जस्तो नभएको प्रतिक्रिया दिए। ‘स्कोर ननिस्किँदा ‘ब्याड्लक’ जस्तो देखियो,’ उनले भने, ‘समग्रमा खेल राम्रै भयो।’ यता विजय यूथका प्रशिक्षक विजयलाल श्रेष्ठले फिनिसिङ नहुँदा गोलको लागि दोस्रो हाफसम्म कुर्नु परेको प्रतिक्रिया दिए। ‘होम ग्राउण्ड’ भएकोले पनि केही फाइदा भयो,’ श्रेष्ठले भने, ‘कमी कमजोरी सुधारेर सेमिफाइनल खेल्नेछौं।’

प्रकाशित: २६ जेष्ठ २०७९ ०७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App