१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

मकवानपुर गोल्डकपः वर्षाका कारण आजको खेल स्थगित

आज (शनिबार) दिउँसोको भारी वर्षाका कारण हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता प्रभावित बनेको छ।आजको लागि तय भएको सशस्त्र प्रहरीको एपीएफ क्लव र फ्रेण्ड्स क्लवबीचको खेल स्थगित भएको हो।

प्रतियोगिता आयोजनास्थल पिप्ले क्याम्पा रंगशालामा जलमग्न भएपछि आयोजकले प्रतियोगिता स्थगितको निर्णय गरेको हो। एपीएफ र फ्रेण्ड्सबीचको खेल भोलि (आइतबार) बिहान साढे ८ बजे हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए।

‘दिउँसोको भारी वर्षाका कारण चौरमा पानी जमेकोले हामीले खेल अघि बढाउन सकेनौं’, लामाले भने, ‘आयोजकले निर्णायक र दुवै क्लवका प्रतिनिधिसँग छलफल गरेका छौं। स्थगित खेल भोलि  बिहान साढे ८ बजे हुनेछ।’ मकवानपुर जिल्ला फुटबल संघको निर्वाचन, कोरोना भाइरस (कोभिड १९) लगायतका कारण गोल्डकपको मिति धकेलिएको थियो।

खेल स्थगित भएपछि प्रतियोगिता आयोजनास्थल पुगेका दर्शकहरु त्यसै फर्किन बाध्य भएका छन्। यो रंगशाला पिप्ले युवा क्लवका अध्यक्ष एवम् पूर्व बक्सिङ खेलाडी सुशील घिमिरेको अगुवाइमा यसै वर्ष निर्माण सम्पन्न भएको हो। आइतबार दिउँसो भने नेपाल पुलिस क्लव र खुमलटार युवा क्लव खेल हुनेछ।

यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ। प्रतियोगितालाई जिल्लाको १० वटै पालिकाले आर्थिक सहयोग गरेको छ। प्रतियोगिताको विजेताले १५ लाख र उप विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

प्रकाशित: २१ जेष्ठ २०७९ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App