६ वैशाख २०८१ बिहीबार
खेल

चौंथो मकवानपुर गोल्डकप यही १९ गतेबाट

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हुँदै आएको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण यही जेठ १९ गतेबाट हुने भएको छ। 

फुटबल संघको आयोजना तथा जिल्लाका १० वटै स्थानीय तहको सहयोगमा प्रत्येक वर्ष स्थानीय तह मकवानपुर गोल्डकपको आयोजना हुँदै आएको छ। जेठ १९ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा हुने प्रतियोगितामा एउटा विदेशीसहित १० क्लवको सहभागिता रहने भएको छ।

प्रतियोगितामा विभागीय क्लवहरु नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११  र क्यामरुनको एभिनियर एफसी सहभागी हुने पक्का भएको आयोजक फुटबल संघका अध्यक्ष टीकारामलामाले जानकारी दिए। 

यसवर्ष प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कारर राशी वृद्धि गरिएको छ। अघिल्लो वर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए। प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ। 

पुरस्कार रकममा वृद्धि गरेकोले प्रतियोगिता अझै रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए। अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा आयोजक टिम उपविजेता बनेको थियो। राष्ट्रिय खेलाडीहरु अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहेका कारण यसवर्ष मच्छिन्द्र, थ्रीस्टार, मनाङ मस्र्याङ्दी लगायतको क्लवले प्रतियोगितामा सहभागिता नजनाउने भएको छ। 

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। विभिन्न अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता, मकवानपुर जिल्ला फुटबल संघको चुनाव, ए डिभिजन लिग लगायतका कारण मिति सारिएको थियो। केही दिनमै खेल तालिका सार्वजनिक गर्ने आयोजकको तयारी रहेको छ।

प्रकाशित: १२ जेष्ठ २०७९ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App