८ वैशाख २०८१ शनिबार
खेल

क्रिकेट खेलाडीको तलब वृद्धि

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला र पुरुष खेलाडीको तलबमा वृद्धि गरेको छ। मंगलबार राति बसेको क्यानको बोर्ड बैठकले खेलाडीको तलबमा वृद्धिसँगै नेपाल ट्वान्टी–२० लिगबाहेक अन्य कुनै पनि लिगलाई मान्यता नदिने निर्णय गरेको छ।

क्यानले राष्ट्रिय पुरुष क्रिकेट खेलाडीको तीनै ग्रेडमा १० हजार रूपैयाँले वृद्धि गरेको छ। महिलातर्फत भने ‘ए’ र ‘बी’ ग्रेडमा ६ हजार रूपैयाँ वृद्धि गर्नुका साथै ‘सी’ ग्रेडका खेलाडीका लागि पाँच हजार रूपैयाँ बढाइएको छ। यससँगै अब ‘ए’ ग्रेडमा रहेका पुरुष क्रिकेटरले मासिक ६० हजार, ‘बी’ गे्रडले ५० हजार र ‘सी’ ग्रेडका क्रिकेटरले ४० हजार रूपैयाँ मासिक तलब पाउनेछन्।

महिलातर्फ वृद्धि हुँदा ‘ए’ ग्रेडका क्रिकेटले २६ हजार, ‘बी’ ग्रेडका क्रिकेटरले १८ हजार र ‘सी’ ग्रेडका क्रिकेटरले १६ हजार रूपैयाँ मासिक तलब प्राप्त गर्नेछन्। नेपाली पुरुष क्रिकेटरका लागि सन् २०१७ देखि तीन श्रेणीमा वर्गीकरण गरी तलब दिन थालिएको थियो।

सुरुआतमा शीर्ष तीन ग्रेडका खेलाडीले क्रमशः २५, १५ र १० हजार तलब पाउने गर्थे। महिलामा भने सन् २०२० देखि मात्र वर्गीकरण गर्दै तलब दिन व्यवस्था सुरु भएको हो। यस पटक क्यानको बोर्ड बैठकले पुरुष खेलाडी तलब राम्रो वृद्धि गरेको छ। उक्त बैठकले कर्मचारीको तलबमा तीन हजार, मैदान सहायक कार्यालय सहयोगीको पाँच हजार र टियु मैदानका क्युरेटरको ६ हजार रूपैयाँले तलब वृद्धि गरेको छ।

साथै क्यानले आगामी असोजमा तय नेपाल ट्वान्टी–२० लिगका लागि पाँच फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गर्दै यसअघिका फ्रेन्चाइज लिगलाई मान्यता नदिने निर्णय गरेको छ। तथापि, ती लिगलाई क्षेत्रीय संरचनाको लिगका रूपमा अनुमति दिइने क्यानले जनाएको छ। क्यानको आयोजना र भारतीय कम्पनी सेभेन थ्री स्पोटर््ससँगको कमर्सियल साझेदारीमा आगामी असोज ८ देखि कात्तिक पाँच गतेसम्म लिग हुँदै छ। त्यसका लागि क्यानले मंगलबार नेपाल ट्वान्टी–२० लिगको ६ टोलीको नाम तय गरेको छ।

उक्त लिगमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी वा भैरहवा र फार वेस्टर्न राख्ने निर्णय क्यानको छ। साथै बैठकले नेपालमा हालसम्म सञ्चालित फ्रेन्चाइज लिगले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ।

यसै हप्ता मात्र एभरेस्ट प्रिमियर लिग (इपिएल) को आयोजक र फ्रेन्चाइज टोलीले आइतबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै इपिएलको अस्तित्व समाप्त पार्न खोजे क्यानले गर्ने सबै खालका क्रिकेट गतिविधि बहिष्कारको चेतावनी दिएका थिए। त्यससँगै क्यानले गत सोमबार विज्ञप्ति जारी गर्दै इपिएलको धम्कीपूर्ण भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको थियो।

साथै क्यानले भ्रामक समाचारप्रति सचेत रहन सबै सरोकारवालालाई अनुरोध गरेको छ। क्यानले नेपाल ट्वान्टी–२० लिगको कमर्सियल साझेदारी सेभेन थ्री स्पोर्ट्स कम्पनीलाई आठ वर्षसम्मका लागि दिएको थियो। त्यसबापत सेभेन थ्री स्पोर्ट्सले वार्षिक चार करोड १२ लाख ५० हजार क्यानलाई उपलब्ध गराउनेछ।

डबल राउन्ड लिगका आधारमा खेलाइने लिगमा पहिलो वर्ष ६ फ्रेन्चाइज टोली सहभागी गराइने यसअघि नै क्यानले स्पष्ट पारिसकेको छ। यस लिगमा ‘ए’ श्रेणीमा रहेका खेलाडीले कम्तीमा १५ लाख, ‘बी’ मा रहनेले १० लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले पाँच लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन्।

प्रकाशित: १२ जेष्ठ २०७९ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App