१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको लगातार दोस्रो जित

ब्याटिङ र बलिङमा सुधारिएको प्रदर्शन गरेको नेपालले युगान्डासँगको पाँचौं ट्वान्टी–२० क्रिकेटमा शनिबार फराकिलो जितसहित शृंखलामा सुखद अन्त्य गरेको छ।

पहिलो तीन खेलमा लगातार हार पराजित नेपालले चौथो र पाँचौं खेलमा जित निकाल्दै शृंखलामा युगान्डासँगको हार ३–२ ले छोट्यायो। दुई जितसँगै घरेलू मैदानमा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेट टोली लज्जास्पद हारबाट जोगियो। १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन मात्र जोडेपछि नेपालले सहज जित निकाल्यो। नेपाली बलरले लय जारी राख्दै युगान्डालाई ठूलो साझेदारी बनाउन दिएनन्। युगान्डाले दोस्रो ओभरमै ओपनर फिओना कुलुमीलाई ४ रनमा गुमायो।

पाँचौं ओभरको तेस्रो बलमा जानेट एमबाबजी १० रनमा आउट भएपछि युगान्डाले दोस्रो विकेट गुमायो। युगान्डाको तर्फबाट सर्वाधिक रनकर्ता जानेटलाई सीता रानामगरले उपकप्तान इन्दु बर्माद्वारा क्याच आउट गराइन्। इन्दुले नै राम्रो ब्याटिङ गरिरहेकी ओपनर केभिन अविनोलाई १५ रनमा पवेलियन फर्काइन्। ९.३ ओभरमा ४७ रन जोड्दा पाहुना टोलीले तेस्रो विकेट गुमायो। यस क्रममा केभिन र रिता मुसामलीले १८ रनको साझेदारी गरे र यो नै युगान्डाका लागि ठूलो साझेदारी रह्यो।

त्यसपछिका ब्याटर लिओना बाबिरे २ रन र सुसान ककाई ७ रनमै पवेलियन फर्किए। विकेट पतनसँगै दबाब परेको युगान्डाले नेपालको कसिलो बलिङसामू रन बटुल्न संघर्ष गर्‍यो। एक छेउबाट इनिङ समालेकी रितालाई १८औं ओभरको पहिलो बलमा इन्दुले आउट गरिन्। रिताले ३८ बलमा २६ रन जोडिन्। साकिरा साडिक १३ रनमा र कप्तान कोन्सी अवके ३ रनमा नटआउट रहे पनि जितका लागि पर्याप्त भएन। नेपालको बलिङमा इन्दुले चार ओभरमा दुई विकेट लिँदा १२ रन मात्र दिइन्।  

शृंखलाभर ब्याटिङमा असफल इन्दुले चार विकेट पूरा गरिन्। सीताले दुई विकेट तथा हिरण्मयी रोय र अस्मिना कर्माचार्यको नाममा १/१ विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुधारिएको प्रदर्शन गर्‍यो र निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनायो। नेपालका लागि ज्योति पाण्डे अर्धशतकबाट एक रनले चुकिन्। सर्ट सिंगल रन लिँदै अर्धशतक पूरा गर्ने क्रममा उनी ४९ रनमा रनआउट हुन पुगिन्। ६१ बलमा उनले तीन चौका हिर्काइन्। ओपनर ज्योतिले पहिलो विकेटका लागि सीतासँग ४७ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाइन्।

८.३ ओभरमा सीता १७ रनमा आउट हुँदा नेपालको पहिलो विकेट पतन भयो। त्यसपछि पनि ज्योतिले थप दुई साझेदारी गर्दै इनिङ उकासिन्। ज्योतिले दोस्रो विकेटका लागि इन्दुसँग ३५ रनको साझेदारी गरिन्। इन्दु ८ रनमै आउट हुँदै शृंखलामा आफ्नो खराब लय जारी राखिन्। ज्योतिले तेस्रो विकेटका लागि पनि १४ रनको साझेदारी गर्दै नेपालीको इनिङ सय रन नजिक पुर्‍याइन्। उनी तेस्रो विकेटका रूपमा रनआउट भइन्। त्यसपछि कप्तान रुविना र डली भट्ट शून्यमा नै रनआउट भए।

एकछेउबाट इनिङ समालिरहेकी कविता जोशी १८ रनमा नटआउट रहँदा अप्सरी बेगम ११ रनमा रनआउट शिकार भइन्। युगान्डाको बलिङमा कप्तान कोन्सी र फिओनाले १–१ विकेट लिए। पाहुना टोलीले चार विकेट रनआउटका रूपमा प्राप्त गर्‍यो। खेलमा ज्योति पाण्डे प्लेयर अफ म्याच घोषित हुँदा जानेट एमबाबजी प्लेयर अफ दी सिरिज घोषित भइन्। जानेटले शृंखलाभर १ सय ३ रन र पाँच विकेट लिएकी थिइन्। 

प्रकाशित: ८ जेष्ठ २०७९ ०५:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App