१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाललाई एकदिवसीय शृंखला

ओपनर कुशल भुर्तेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतकप्रेरित नेपालले सोमबार जिम्बाब्वे ‘ए’ विरुद्धको तीन एकदिवसीय खेलको शृंखला २–१ ले जितेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जिम्बाब्वेले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा मात्र ४ विकेट गुमाउँदै पूरा गर्‍यो।ओसिलो मैदानका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि खेल ३३ ओभरमा घटाइएको थियो।

कुशल र आसिफ शेखले पहिलो विकेटका लागि ७३ रनको साझेदारीसहित नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। आसिफले २७ बलमा २ चौका र १ छक्काको मद्दतमा २९ रनको योगदान दिए। नेपालले १ सय १२ रनको अवस्थामा सुनील धमलालाई दोस्रो विकेटका रूपमा गुमायो। सुनीलले १४ बलमा ६ रन जोडे। २१औं ओभरको तेस्रो र चौथो बलमा लगातार कुशल र रोहित पौडेललाई गुमाएपछि नेपाल दबाबमा परेको थियो ।

कुशलले ६१ बलमा ७ चौका र ४ छक्काको मद्दतमा ८४ रनको योगदान गर्दा रोहित रन खाता नखोल्दै ब्रान्डन मभुताको बलमा एलबिडब्लुको सिकार बने।

त्यसपछि ब्याटिङका लागि आएका दीपेन्द्र र विकेटकिपर ब्याटर विनोद भण्डारीले अविजित ८४ रनको साझेदारी गरेसँगै नेपालले सहज जितसहित शृंखला जितेको हो। दीपेन्द्रले ४३ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ६० रन जोड्दा विनोदले २६ बलमा ३ चौकाको मद्दतमा अविजित २८ रन जोडे।

जिम्बाब्वेका मभुताले ६ ओभरमा ४३ रन खर्चंदै ३ विकेट लिए भने ब्राड इभान्सले ६ ओभरमा ३८ रन खर्चदै १ विकेट लिए।

शुक्रबार पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ३ विकेटले पराजित भएको थियो। नेपाले प्रस्तुत गरेका १ सय ३७ रनको लक्ष्य जिम्बाब्वेले ७ विकेट गुमाउँदै पूरा गरेको थियो। शनिबार दोस्रो खेलमा ९ विकेटको जितसहित नेपालले शृंखलामा १–१ को बराबरी गरेको थियो। जिम्बाब्वेले प्रस्तुत गरेको ८८ रनको लक्ष्य नेपालले मात्र १ विकेट गुमाउँदै पूरा गरेको थियो।

यसअघि टस हारेर ब्याटिङका लागि आएको जिम्बाब्वे ३२.१ ओभरमा २ सय १३ रनमा सीमित भएको थियो। जिम्बाब्वेका ओपनर ताडिवान्सी मारुमानीले सर्वाधिक ५० रन जोड्दा कुट्जाई मौन्जीले ३९, रोय कायाले ३६ र कप्तान टोनी मुन्योङगाले २४ रन जोडे। मारुमानीले ३१ बदमा ७ चौका र २ छक्का प्रहार गरे। नेपालका लागि किशोर महतोले ७ ओभरमा ४३ रन खर्चंदै ५ विकेट लिए। त्यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्रले समान १ विकेट लिएका थिए।

यसअघि जिम्बाब्वे ‘ए’ विरुद्धकै तीन ट्वान्टी–२० शृंखला भने नेपालले १–१ को बराबरीमा टुङ्ग्याएको थियो। पहिलो खेलमा नेपालले जिम्बाब्वेलाई नतिजा सुम्पिएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। तेस्रो तथा अन्तिम खेलमा जितसहित नेपालले शृंखला बराबरी गरेको थियो।

प्रकाशित: २७ वैशाख २०७९ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App