१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जेभियर र नाथमलाई उपाधि

जेभियर इन्टरनेसनल र नाथमले सोमबार पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। जेभियर ब्वाइज तथा नाथम गल्र्समा च्याम्पियन बने।

ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा सम्पन्न ब्वाइजको फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजमाथि ७९–५५ को जित निकाल्दै उपाधि रक्षा गरेको हो। जेभियरका रवि पौडेलले १७ अंक योगदान गरे। जेभियर लगातार पाँचौं पटक च्याम्पियन बन्यो। दोस्रो क्वार्टरको समाप्तिसम्म गोल्डेनगेट समग्रमा पाँच अंकले अगाडि थियो। पहिलो क्वार्टरमा १८–१२ को अग्रता लिएको जेभियर दोस्रोमा ८–१९ ले पछि पर्‍यो। तेस्रोमा २६–१० र चौथोमा २७–१४ को महत्वपूर्ण अग्रता बनाउँदै जेभियरले उपाधि सुनिश्चित गर्‍यो। उपाधिसँगै जेभियरले ५० हजार रूपैयाँ नगद पुरस्कार हात पार्‍यो भने गोल्डेनगेटले ३० हजार रूपैयाँ नगद पुरस्कारमा चित्त बुझायो।

गल्र्सको उपाधि भिडन्तमा झरना वज्राचार्यको १३ अंक मद्दतमा नाथमले शुभश्रीलाई ३२–७ ले सहजै हराउँदै नयाँ च्याम्पियन बन्यो। विगतका चार संस्करणको उपाधि जेभियरले जितेको थियो। जेभियर पाँचौं संस्करणमा सहभागी भएन भने नाथम पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो। नाथमले पहिलोमा १३–०, दोस्रोमा ११–१, तेस्रोमा ६–२ र चौथोमा २–४ को प्रदर्शन गर्‍यो। विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे। ब्वाइजमा जेभियरका तेन्जिङ सोनाम भुजेल र गल्र्समा नाथमकी कृषा डान्डेख्या मोस्ट भेलुएबल प्लेयर घोषित भए। दुवैले समान पाँच हजार नगद पुरस्कार पाए।

विजेतालाई क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठ, बिबिए निर्देशक ज्योति शेरचन, एसोसिएट डाइरेक्टर आदर्श जोशी र प्रिन्सिपल उदयराज पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे। वैशाख २१ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा आठ टोलीले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। गल्र्सको राउन्ड रोबिन लिगमा चार टोली सहभागी थिए। प्रतियोगिताको प्रायोजकमा कोकाकोला, सर्भा ट्राभल्स, सम्पूर्ण प्रिन्टिङ प्रेस र ओम शान्ति टेलर्स थिए। क्वेस्टका संस्थापक निर्देशक स्व. नारायणप्रसाद श्रेष्ठको सम्झनामा क्वेस्टले प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रकाशित: २७ वैशाख २०७९ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App