१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एनआरएनएले अमेरिका, इंग्ल्याण्ड, अष्ट्रेलियाबाट क्रिकेट र फुटबल टिम ल्याउने

नेपाल सरकारको आयोजनामा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिले तयारी तीव्र पारिएको छ।

मन्त्रिपरिषद्को बैठकले जेठ २२–२८ गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने मिति तोकेपछि अहिले सरोकारवाला निकायहरु पनि तयारीमा व्यस्त बनेका छन्। अब १ महिना भन्दा कमको समय रहेकाले प्रतियोगितामा सहभागी हुने ७ प्रदेश र ४ वटा विभागले आ–आफ्नै तरिकाले तयारी सुरु गरेका हुन्।

कान्छो विभागको रुपमा गत आठौं राष्ट्रियबाट सहभागी भएको गैर आवासीय नेपाली संघ (एनआरएनए स्पोर्टस)ले पनि  तयारी तीव्र पारिएको एनआरएन स्पोर्टस एकेडेमीका कार्यबहाक सदस्य सचिव धर्मराज गिरीले जानकारी दिए।

उनले एनआरएनएले नवौं राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने गरी तयारी भइरहेको र यस पटक राखेपले प्रस्ताव गरेका ३६ मध्य १८ खेलमा सहभागी हुने बताएका छन्। उनले भने 'हामीले तयारी तीव्र पारेका छौं, अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको छ। राखेपले तोकेको मितिसम्म खेलाडी हामीले दर्ता गर्छौं।'

आठौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत इभेन्ट्समा मात्रै सहभागिता जनाएको एनआरएनएले यस पटक सामूहिक खेलमा पनि सहभागीता जनाउँदै छ। यो पटक फुटबल, भलिबल र क्रिकेटका साथै बास्केटबलको पनि टिम आउने जनाइएको छ।

क्रिकेटको टिम इंग्ल्याण्ड (युके)बाट आउने छ। यसैगरी भलिबलको टिम अष्ट्रेलिया र युकेबाट ल्याउने तयारी गरिएको छ भने बास्केटबलको टिम अष्ट्रेलियाबाट आउने छ। यस्तै, फुटबलको टिम ल्याउने जिम्मा हिमालयन फुटबल क्लब मलेसियाका अध्यक्ष सन्तोष कार्कीलाई जिम्मा दिएको र उनले अष्ट्रेलिया र मलेसियाबाट खेलाडी छनोट गराएर टिम बनाउने बुझिएको छ।

एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यले पनि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आफू निकै उत्साहित रहेको बताएका छन्। विदेशमा बसेका नेपालीहरुलाई नेपालसँग खेलकुदको माध्यमबाट जोड्न पाउँदा आफू उत्साहित रहेको र प्रतियोगितामा एनआरएनएको सक्रिय सहभागिता हुने भन्दै तयारीका लागि कुनै कसर बाँकी नराख्न निर्देशन पनि दिएका छन्।

खेलकुदका लागि एनआरएनएका तीन जना युवा उपाध्यक्षहरु हिमाल गुरुङ, राज रेग्मी र रोशन थापा सहित संयोजकहरु अब्दुल बसिद र रविन्द्र खड्काले विभिन्न देशमा रहेका एनसीसीहरुसँग समन्वय गरिरहेको कार्यबहाक सदस्य सचिव गिरीले बताए।  

प्रकाशित: २६ वैशाख २०७९ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App