२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

दीपेन्द्रको घरेलु भूमिमा दोस्रो अन्तर्राष्ट्रिय सतक

दीपेन्द्रसिंह ऐरीको सतकप्रेरित नेपालले शनिबार मलेसियालाई ८५ रनले हराउँदै त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा सतप्रतिशत जित यात्रासहित समूह चरणको अन्त्य गरेको छ।

नेपालले पपुवा न्युगिनी (पिएनजी) र मलेसियासँग समान २/२ गरी कुल चार खेल जित्यो। यसअघि नेपालले नै लगातार तीन जितसहित फाइनलमा स्थान बनाइसकेको थियो। नेपालले मलेसियालाई हराएसँगै पिएनजीले फाइनलमा स्थान बनायो।

शीर्षको नेपालको चार खेलमा आठ अंक रह्यो भने दोस्रो स्थानको पिएनजी र तेस्रो स्थानको मलेसियाको समान दुई अंक जोड्यो। नेपाल र पिएनजीबीचको फाइनल सोमबार हुनेछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा १ सय ३८ रनमै समेटिएपछि नेपालले सहज जित निकाल्यो।

पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदा पाहुना टोलीलाई १ सय १४ रनमा नै रोकेको थियो। १८ रन जोड्दा मलेसियाले ओपनर जुबाडी जुल्किफलीलाई पहिलो विकेटका रूपमा गुमायो। आक्रामक ब्याटिङ गरेका अर्का ओपनर वीरनदीप सिंह छैटौं ओभरको चौथो बलमा पवेलियन फर्किएपछि नेपालले पकड बनायो।

कमलसिंह ऐरीको बलमा आरिफ शेखबाट क्याच आउट हुनुअघि उनले २६ बलमा ९ चौका मद्दतमा ४७ रन जोडे। कप्तान अहमद फैजले ३१ बलमा तीन चौकासहित ३३ रन बनाए।  १३औं ओभरको दोस्रो बलमा फैज आउट हुँदा १०१–५ को स्थितिमा रहेको मलेसियाले थप ३७ रन जोड्न बाँकी पाँच विकेट नै गुमायो।

मलेसियालाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दीप लामिछानेले चार ओभरमा १९ रन खर्चंदै तीन विकेट लिए। दीपेन्द्र र कमलसिंह ऐरीले समान दुई तथा कुशल भुर्तेल र रोहित पौडेलले समान १ विकेट लिए। कमलसिंह चोटका कारण १७औं ओभरमा मैदानबाट बाहिरिएका थिए।

सो ओभरको दोस्रो बलमा मलेसियाका अनोल हाफिजको प्रहार चोभार इन्डतर्फ बाउन्ड्री लाइनमा रोक्ने क्रममा उनी घाइते भएका थिए। उनको ब्युटी बोन भाँचिएको र आइतबार शैल्यक्रिया गरिने बताइएको छ। त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २ सय २३ रनको विशाल योगफल खडा गर्‍यो।

नेपालले ट्वान्टी–२० मा बनाएको यो तेस्रो ठूलो योगफल हो। सन् २०२१ अप्रिलमा यसै मैदानमा नेदरल्यान्ड्सविरुद्धको ट्वान्टी–२० मा नेपालले २ सय ३८ रन बनाएको थियो। नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रन जोडेको थियो। जारी शृंखलामा नेपालले २ सय रनको आँकडा पूरा गरेको यो दोस्रो पटक हो।

गत बिहीबार नेपालले पिएनजीविरुद्ध पनि २ सय ३ रनको योगफल तयार पारेको थियो। २७ रन जोड्दा तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशललाई गुमाएको नेपालका अर्का ओपनर आसिफ पनि थप ९ रन जोड्दा पवेलियन फर्किए। ३६–२ को स्थितिमा नेपालको इनिङ रोहित र दीपेन्द्रले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै विशाल योगफलतर्फ अघि बढाए।

रोहितले ३४ बलमा ५ चौका मद्दतमा ५१ रन जोडे। पाँचौं विकेटका लागि दीपेन्द्रले आदिल आलमसँग ५९ रनको साझेदारी गरे। दीपेन्द्रले ५७ बलमा १० चौका र ६ छक्का मद्दतमा १ सय १० रन जोडे। आदिलले ९ बलमा १ छक्का मद्दतमा १४ रन प्रहार गरे।दीपेन्द्र एकदिवसीयका साथै ट्वान्टी–२० मा पनि सतक पूरा गर्ने दोस्रो नेपाली ब्याटर बने।

उनले गत साता पिएनजीविरुद्ध दुई एक दिवसीय शृंखला अन्तर्गत दोस्रो खेलमा सतक पूरा गरेका थिए। त्यसअघि पारस खड्काले एकदिवसीयका साथै ट्वान्टी–२० मा सतक बनाएका छन्। संयुक्त अरब इमिरेटस(युएई) विरुद्ध एकदिवसीय सतक पूरा गरेका पारसले सिंगापुरविरुद्धको ट्वान्टी–२० मा पनि सतक पूरा गरेका थिए।

दीपेन्द्रले मलेसियाविरुद्ध सतकसँगै ट्वान्टी–२० खेलमा ९ सय ७९ रन पूरा गरेका छन्। उनी ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन प्रहार गर्ने नेपाली ब्याटर हुन्। ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्न उनी २१ रनले मात्र टाढा छन् ।

प्रकाशित: २० चैत्र २०७८ ०६:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App