२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

वडाध्यक्षहरूले गरे कार्यपालिका बैठक बहिष्कार

कैलालीको लम्कीचुहा नगरपालिकाका अधिकांश वडाध्यक्षहरूले बजेट बाँडफाँडको विषयमा विमति जनाउँदै कार्यपालिका बैठक बहिष्कार गरेका छन्। उनीहरुले वडा कार्यालयलाई न्यून बजेट दिएको भन्दै विमति जनाएका छन्।

वडाध्यक्षहरूले प्रति वडा कार्यालय एक करोड रुपैयाँ बजेट माग गरेका छन्। नगर प्रमुख सुशीला शाहीले यसअघि दिँदै आएको ४० लाख मात्रै उपलब्ध गराइने भनेपछि वडाध्यक्षहरूले विमति जनाएका हुन।

नगर प्रमुख शाहीले वडा कार्यालयको बजेट यथावत् राखेर नगर कार्यपालिकाको चालु खर्च अस्वाभाविक रुपमा वृद्धि गरेको वडाध्यक्षहरूले आरोप लगाएका छन्। उनीहरुले आगामी आर्थिक वर्षका लागि नगर प्रमुखले चालु खर्चतर्फ करिब २२ करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको जानकारी दिएका छन्।

नगर प्रमुख शाही वैदेशिक भ्रमणमा गएका कारण नगरसभा सम्पन्न हुन सकेको छैन। जेठ २१ गते नीति तथा कार्यक्रम पास गरेर नगरसभा स्थगित भएको थियो। नगरसभा स्थगित गरेर नगर प्रमुख शाही जर्मनी, डेनमार्क, फिनल्यान्ड भ्रमणमा निस्केकी थिइन। 

उनी केही दिन अघि मात्रै स्वदेश फर्किएकी छन्। उनी स्वदेश फर्के लगत्तै बजेट बाँडफाँड गर्ने गरी हिजो देखी कार्यपालिका बैठक सुरु भएको थियो। कार्यपालिका बैठकमा अधिकांश वडाध्यक्षहरूले वडा कार्यालयको बजेट वृद्धि गर्न माग गरेका थिए।

‘वडामा हुने विकास निर्माणका कामको बजेट कटौती गर्ने कुरा चित्तबुझ्दो भएन’ वडा नम्बर २ का वडाध्यक्ष सन्तोष ओलीले भने –‘बजेट अभावमा वडामा विकास हुन सकेको छैन।’

वडाध्यक्षहरू बजेट वृद्धिको माग गर्दै छुट्टै छलफलमा जुटेका छन्। उनीहरुले आफूहरूको माग सम्बोधन नभए नगरसभा गर्न नदिने चेतावनी दिएका छन्। यही असार २५ गते नगरसभा आह्वान गरिएको छ।

वडा नम्बर ८ का वडाध्यक्ष हरिप्रसाद चौधरीले आज नगर कार्यपालिका बैठकमा उपस्थित नभएको बताए। उनले वडाध्यक्षहरू छुट्टै बसेर सरसल्लाह गर्ने तयारी भइरहेको बताए। ‘हामी छुट्टै बस्छौँ’उनले भने –‘हाम्रो माग सम्बोधन नभएसम्म कार्यपालिका बैठकमा उपस्थित हुँदैनौ ’

तर वडा नम्बर ४ का वडाध्यक्ष ताराप्रसाद अधिकारी र वडा नम्बर १० का वडाध्यक्ष हर्क कठरियाले भने त्यति ठूलो विमति नरहेको बताए। उनीहरुले केही कुरामा चित्त नबुझेको मात्रै बताए। ‘बहिष्कार नै हैन। त्यति ठूलो विमती पनि छैन’ उनले भने –‘केही कुरामा असहमति मात्रै हो।’

नगरपालिकाको प्रमुख शाही नेपाली कांग्रेस र उप प्रमुख जुना चौधरी नेकपा एमालेबाट विजयी भएका हुन। १० वटा वडामध्ये ६ वटा नेपाली कांग्रेस, २ वटा नेकपा एमाले र १÷१ वटा नेकपा माओवादी र स्वतन्त्रले जितेका छन्। 

प्रकाशित: २१ असार २०८१ १७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App