२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सडक किनारमा वृक्षारोपण अभियान

मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारदेखि सीमा क्षेत्रसम्मको सडक किनारामा वृक्षारोपण अभियानको सुरुवात गरिएको छ।

मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य स्वतन्त्र सांसद योगेन्द्र मण्डलले सडक किनारमा वृक्षारोपण गर्दै अभियानको सुरुआत गरेका हुन्। कर्सिया बजारको बिपी चोकदेखि भारतीय सीमा क्षेत्रसम्म पुग्ने सडकबाट उनले अभियान सुरु गरेका छन् । ‘बिरुवा हुर्काऊँ, पृथ्वी बचाऊँ’भन्ने मूल नाराका साथ अभियान थालेको सांसद मण्डलले बताए।

उनले बिरुवा रोप्ने अर्थात् वृक्षारोपणको कार्यक्रम सबैले गर्ने तर हुर्काऊँ भन्ने कुरा कसैले नगरेको हुँदा मैले रोप्ने मात्रै नभई बिरुवा हुर्काउने अभियान थालेको हो। धनपालथानबाट सुरु गरेको अभियान क्षेत्र नम्बर ५ का सबै कालोपत्रे सडकको दाँया बायाँ मा बिरुवा रोप्ने र हुर्काउने उनको योजना रहेको बताए।

जीवन विकास समाज, थ्री जिरो क्लब र जीवन विकास लघुवित्त वित्तीय संस्थासँगको समन्वयमा सांसद मण्डलले थालेको अभियानको पहिलो दिन ५ सय बढी विभिन्न जातका बिरुवा रोपिएको थियो । पृथ्वी बचाउने अभियान अन्तर्गत कालोपत्रे सडकको किनारमा बिरुवा रोप्न थालिएको बताउँदै, सांसद  मण्डलले भने, ‘कालोपत्रे सडक वातावरणीय हिसाबले हानिकारक रहेको हुँदा वातावरण संरक्षणका लागि सडक किनारमा वृक्ष रोप्न र हुर्काउन सबैमा अनुरोध गर्छु । जसको घर अगाडि रोपिएको उहाँहरूलाई नै संरक्षण गर्ने जिम्मा दिइने छ । घर छेउछाउमा फलफूलको बिरुवा रोप्दा उहाँहरूले संरक्षण गर्नु हुन्छ।’

जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले लघुवित्तले पनि वातावरण संरक्षणको क्षेत्रमा निरन्तर अभियान सञ्चालन गरिरहेको जानकारी दिए। शून्य गरिबी,  शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित थ्री जिरो क्लब गठन र सामाजिक कार्यमा युवा परिचालनका लागि काम गरिरहेको उनले बताए। 

प्रकाशित: २४ असार २०८१ १५:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App