३१ श्रावण २०७९ मंगलबार
खेल

विभागीय त्रिभुवन आर्मी इटहरी गोल्डकपको उद्घाटन खेलमा विजयी

आयोजक इटहरी राष्ट्रिय जागृति क्लब र आर्मी (हरियो जर्सी) का खेलाडीबीच प्रतिस्पर्धा हुँदै। तस्बिरः अमर/नागरिक

विभागीय टिम त्रिभुवन आर्मी क्लब १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी भएको छ। आर्मीले आयोजक राष्ट्रिय जागृति क्लबलाई हराएर विजयी भएको हो।  

इटहरी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ गोल अन्तरले पराजित गरियो। आर्मीका लागि टेकबहादुर बुढाथोकी र भरत खवासले गोल गरे। बुढाथोकीले २९ औं मिनेटमा र खवासले ४० औ मिनेटमा गोल गरे। खेलको शुरुवातदेखि नै आर्मीले आक्रमक रुपमा खेल प्रदर्शन गर्दा आयोजकले अपेक्षाकृत खेल प्रदर्शन गर्न सकेन।  

खेलको दोस्रो हाफमा आयोजकका तर्फबाट थुप्रैपटक गोल गर्ने अवसर चुकायो। आयोजकका तर्फबाट बिजय भुजेलले ६९ औं मिनेटमा १ गोल गर्न सफल भएर शुन्य हुनबाट बचाए। खेलको म्यान अफ दि म्याच आर्मीका भरत खवास घोषित  भए। उनले नगद १० हजार प्राप्त गरे।  

चैत २६ गतेसम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित आठ टिम सहभागी छन। जसमा मनाङ् मर्स्याङ्दी क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, झापा ११, मोरङ ११, आयोजक राष्ट्रिय जागृती क्लब, न्यूरोड टिम काठमाडौं, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजङ्गा फुटबल क्लब भारत रहेका छन्।

विजेताले ७ लाख  र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार पाउने प्रतियोगिता अन्तर्गत आइतबारको खेल ए डिभिजन क्लब मनाङ् मर्स्याङ्दी र कञ्चनजङ्गा फुटबल क्लब भारतबीच हुनेछ।

इटहरीमा राष्ट्रिय जागृति क्लबको आयोजनामा आठौं संस्करणसम्म क्लबका पूर्व अध्यक्ष स्वर्गीय दानवहादुर फूयँलको स्मृतिमा गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएको थियो। जसलाई परिमार्जन गरी तीन वर्षसम्म इटहरी गोल्डकपको रुपमा खेल हुँदै आएको थियो। त्यसपछि त्यही गोल्डकपको नाम रुपान्तरण गरि मदन भण्डारी गोल्डकप दोस्रो संस्करण सम्मलाई निरन्तरता दिएको थियो। तर, अब फेरि आयोजकले पुरानै नाम इटहरी गोल्डकप दिएर प्रतियोगिता गर्न लागेको हो।

प्रकाशित: १९ चैत्र २०७८ २०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App