१५ चैत्र २०८० बिहीबार
खेल

सकियो दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता, ९ गतेबाट भलिबल हुँदै

जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङको आयोजनामा फुङ्लिङमा सञ्चालित दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिता सकिएको छ।

महिला डबलतर्फ नुमा लिम्बू र सरुना गुरुङको टोली विजेता बन्यो। मनिता गुरुङ र मिङ्माडोमा शेर्पाको जोडी उपविजेता भयो। विजेता टोलीले नगद १२ हजार र उपविजेताले नगद ८ हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

यस्तै भेट्रान डबलतर्फ काजीमान गुरुङ र भुपाल राना मगरको जोडीले राम नेयोङ र बालाहाङ यक्सोको जोडीलाई पराजित गर्‍यो। विजेता गुरुङ र राना मगरको जोडीले नगद १५ हजार तथा नेयोङ र यक्सोको जोडीले नगद १० हजार रुपैंयाका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै सिनियर ‘ए’ तर्फ दीपेन गुरुङ र प्रेम लिम्बूको जोडी विजेता हुँदा सोजित श्रेष्ठ र बसन्त गुरुङको जोडी उपविजेता बन्यो। विजेता टिमले नगद २० हजार तथा उपविजेता टिमले नगद १५ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको जिल्ला ब्याडमिन्टन संघका कार्यवाहक अध्यक्ष सुरेश सिंघकले जानकारी दिए।

त्यस्तै जुनियर ‘बी’ तर्फ नन्दु बानिँया र खेगेन गुरुङको जोडी विजेता बन्यो। राम नेयोङ र बालाहाङ यक्सोको जोडी उपविजेता बन्यो। विजेता टिमले नगद १५ हजार तथा उपविजेता टिमले नगद १० हजार रुपैंयाका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

पालिका कर्मचारीतर्फ पाथीभरा याङ्वरक गाउँपालिकाका केशव पौडेल र शिव काम्वाङको जोडी विजेता बन्दा मिक्वाखोला गाउँपालिकाका गजेन्द्र थलङ र चन्द्र साँवाको जोडी उपविजेता बन्यो। विजेता टिमले नगद १५ हजार तथा उपविजेता टिमले नगद १० हजार रुपैंयाका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

खुल्ला महिला एकलतर्फ विनिता तामाङ विजेता र यसोदा सुनुवार उपविजेता भइन्। विजेता तामाङले ५ हजार तथा उपविजेता सुनुवारले ४ हजार रुपैयाँका ट्रफी,  मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। १७ वर्ष मुनिको पुरुषतर्फको खेलमा लिटलबुद्धका रिवास गुरुङ उत्कृष्ट बने।

यसैगरी १२ वर्ष मुनिको पुरुषतर्फ मेची सेन्टमेरिजका प्रितम पौडेल र महिलातर्फ ताप्लेजुङ सिद्धार्थ एकेडेमीका निसु गुरुङ उत्कृष्ट बने। धनकुमारी लिम्बूले महिलातर्फ उत्कृष्ट र मिलन गुरुङ पुरुषतर्फ उत्कृष्ट खेलाडी बन्न सफल भए। उत्कृष्ट हुने सबैलाई मायाको चिनो प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।

प्रतियोगिताका विजेताहरुलाई फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई (तारा), प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल लगायतले पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए। चैत ९ गतेबाट मेयरकप भलिबल प्रतियोगिता भानुजन माविको खेल मैदानमा सुरु हुँने फुङ्लिङ नगरपालिकाले जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७८ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App