४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

आयोजकलाई हराउँदै हिमालयन सेमिफाईनलमा

सहिद स्मारक ए डिभिजन क्लव हिमालयन शेर्पा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ। धनगढी रंगशालामा भएको खेलमा आयोजक तथा साविक बिजेता सुदूरपश्चिम ११ स्पोर्टस क्लबलाई २–१ गोलको अन्तरले पराजित गर्दै हिमालयन अन्तिम चारमा पुगेको हो। घरेलु दर्शकको हुटिङका बीच खेल प्रतिस्पर्धात्मक बनेको थियो।

प्रतिस्पर्धात्मक खेलमा हिमालयनलाई जित दिलाउन पिस्टन मुटाम्बा र सुरेश कुमालले एक एक गोल गरे। यस्तै हिमालयनका विवेक पण्डितले आत्मघाती गोल गरे। खेलको ३४ औं मिनेटमा पिस्टनले गोल गर्दै हिमालयनलाई अग्रता दिलाए। ५५ औं मिनेटमा सुरेशले गोल गरेपछि हिमालयन २–० ले अघि रह्यो। त्यसपछि खेलको ६७ औं मिनेटमा विवेकले आत्मघाती गोल गरेपनि हिमालयन २–१ ले विजयी भयो।

अब हिमालयन सेमिफाईनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्ने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका सचिव तथा प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए।  यस अघि शनिवार भएको खेलमा नव जन जागृती युवा क्लव सिमरा लाई ४–० गोलको अन्तरले हराउँदै हिमालयन शेर्पा क्वाटर फाईनल प्रवेश गरेको थियो। प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा लिग विजेता मछिन्द्र क्लब र वागमती युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ।

खेलपछि प्रतिक्रिया दिँदै हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगलकिशोर राईले सुदूरपश्चिम ११ ले सोचेभन्दा निकै राम्रो प्रदर्शन गरे पनि स्कोर गर्न नसकेको बताए। उनीहरुले स्कोर गर्न नसकेकोले जित भएको उनको भनाई थियो। स्थानीय र जुनियर खेलाडी भाईहरुले जुन तरिकाले खेले, त्यो राम्रो प्रदर्शन रहेको उनले बताए। ‘हामीले पनि स्कोर क्वालिटी देखायौ। गोल गरेर खेल जितेपनि यो जित सुप ११ लाई समर्पित गर्न चाहन्छु,’ उनले भने।

क्वीक अट्याकले पहिलो हाफमा उनीहरुले निकै समस्यामा पारेको उनले बताए। ‘केही खेलाडीले खेल्न नपाउँदा पनि केही समस्या त भयो। दोस्रो हाफमा क्रियटिभ भएर खेल जिते ’, उनले भने। अब सेमिफाईनलमा टीम अझ बलियो बनाएर जित्ने गरी खेल्ने उनको भनाई थियो।

खेलपछि प्रतिक्रिया दिँदै सुदूरपश्चिम–११ स्पोर्टस क्लबका प्रशिक्षक गजेन्द्र शाहीले अधिकांश समय बल आफ्नो कब्जामा राख्दा राख्दै पनि गोल गर्न नसक्दा खेल गुमाएको बताए। ‘खेल एकदम कम्पिटिसन भयो। बल पोजिसन धेरै राख्दा राख्दै पनि फिनिसिंगमा तालमेल नमिल्दा गोल हुन सकेन’, उनले भने। ईजी खेलेर उनीहरुको रणनीति ब्रेक गर्न खोजेको उल्लेख गर्दै अट्याकिंग खेल्दा पनि दुई तीन स्कोर हुन नसकेको उनले बताए। ‘घरेलु दर्शकको पनि राम्रो साथ थियो। तर उहाँहरुलाई खुशी बनाउन सकेनौं’, उनले भने। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।

प्रतियोगिता हेर्न विद्यार्थीका लागि १ सय र अन्य दर्शकका लागि १ सय ५० शुल्क तोकिएको छ। नकआउट आधारमा खेलाईराखिएको प्रतियोगिताको फाइनल फागुन २८ मा हुने छ। प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख प्रदान गरिने छ।

उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन। यसैगरि प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई १०, १० हजार प्रदान गर्ने गरिएको छ।

प्रकाशित: २३ फाल्गुन २०७८ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App