६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ को तयारी

कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला रारा अल्ट्रा म्याराथन २०७८ को तयारी थालेको छ। आगामी चैत २६ गते आयोजना हुन लागेको म्याराथनको तिब्र तयारी भइरहेको हो।

जुम्ला सदरमुकाम खलंगादेखि मुगुको राराताल सम्म ४९ किलोमिटर दुरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।  

जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवर्द्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन आयोजना हुन लागेको हो।

क्लबका अध्यक्ष शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको बताए। यो पटक गरेर तेस्रो पटक जुम्ला रारा अल्ट्रा म्याराथन हुँदैछ।    

गत २०७५ सालमा पहिलो म्याराथन आयोजना गरिएको थियो। २०७६ सालमा दोस्रो संस्करणको म्याराथन आयोजना गरिएको थियो। कोरोनाका कारण २०७७ सालमा  म्याराथन सञ्चालन हुन सकेन।

एक बर्षको फरकमा जुम्ला रारा अल्ट्रा म्याराथन हुन लागेको विश्व किर्तिमानी धावक हरीबहादुर रोकायाले जानकारी दिए। समुन्द्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार ३ सय मिटरको उचाइमा रहेको डाँफे लेक, ४ हजार १ सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८ सय ९० मिटरको उचाइमा रहेको राराताल छेउमा पुगेर सकिने छ।  

जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी ५ देखि ७ घण्टामा पार गर्छन्। धावक रोकायाले भने,‘यो म्याराथनले कर्णालीका खेलाडीलाई प्रोत्साहित गरिरहेको छ। राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई कर्णाली भुमिमा आएर खेल प्रदर्शन गर्ने अवसर प्रदान भइरहेको छ । यो कर्णाली चिनाउने एक राम्रो माध्यम भएको छ।’

गतबर्षहरुको म्याराथनमा महिला र पुरुष खेलाडी गरेर झण्डै ३ सय ५० सम्म सहभागिता जनाउदै आएका थिए। यो पटक पनि खेलाडी संख्या बढ्न सक्ने अनुमान गरिएको छ। यो बर्ष म्याराथनमा बिजेता खेलाडीको पुरस्कार एक लाख रुपैयाँ भन्दा माथि नै हुने आयोजकले जनाएका छन । केही दिन पछि पुरस्कार राशी घोषणा हुने खेलकुद क्लवले जनाएको छ।  

यो पटक उत्कृष्ट १० खेलाडीलाई पुरस्कृत गरिनेछ। जुम्ला रारा अल्ट्रा म्याराथनमा ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। म्याराथनमा सहभागी हुन विदेशी खेलाडीले चार हजार ५ सय रुपैयाँ  र नेपाली खेलाडीले एक हजार ६ सय रुपैया दर्ता शुल्क लाग्नेछ।  

दर्ता गर्न तिरेको रकमबाट रारातालको एक बाससहित टिसर्ट तथा खाजाखानाको प्रबन्ध गरिएको छ। आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने आयोजकले जनाएका छन।

खेलकुद क्लबका संरक्षक धावक हरिबहादुर रोकायाले खेल क्षेत्रको विकासमा सरकार तथा विभिन्न संस्थाहरुको सहयोगको खाँचो रहेको औँल्याए। सडक मार्गका कारण पदमार्ग जोखिममा परेको भन्दै उनले पदमार्ग पनि समृद्धिको आधार हुन सक्नेमा जोड दिए।  

अहिले यहाँ उत्पादित खेलाडीले विभिन्न पुरस्कार जितिरहेका छन्। कर्णालीलाई खेलकुद संभावनाको आधार बनाउनको लागि एक महत्वपुर्ण कोसेढुंगा यो म्याराथन हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २१ फाल्गुन २०७८ १४:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App