विश्व क्रिकेटका सर्वकालीन महान् खेलाडीमध्ये एक अस्ट्रेलियाका शेन वार्नको ५२ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ।
शताब्दीका सर्वकालीन महान् पाँच क्रिकेटरमध्ये एक रहेका वार्नको थाइल्यान्डमा हृदयाघातका कारण निधन भएको फक्स स्पोर्ट्सले जनाएको छ। १५ वर्षे अन्तर्राष्ट्रिय करियरमा उनले ७ सय ८ टेस्ट विकेट लिएका छन्। उनी सन् १९९२ देखि २००७ सम्म अस्ट्रेलियाको क्रिकेट टोलीका महत्वपूर्ण सदस्य थिए। साथै अस्ट्रेलियाले सन् १९९९ मा विश्वकप जित्दा उनको भूमिका महत्वपूर्ण थियो। उनका व्यवस्थापकीय टोलीका अनुसार थाइल्यान्डमा वार्नलाई हृदयाघात भएको थियो।
‘थाइल्यान्डमा उनी बेहोस भएका थिए। मेडिकल टोलीले धेरै प्रयास गरे पनि उनलाई बचाउन सकिएन,’ वार्नको व्यवस्थापकीय टोलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। जादुमयी स्पिन गर्ने वार्न अस्ट्रेलियाले पाँच पटक एसेज जित्दा टोलीका सदस्य थिए। स्पिनमा बललाई चामत्कारिक तरिकाले टर्न गराउन उनमा विशेष क्षमता थियो।
प्रकाशित: २१ फाल्गुन २०७८ ०२:५१ शनिबार