१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

फुटबलमा रूसमाथि प्रतिबन्ध

फिफाले सबै खाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा प्रतिबन्ध लगाएसँगै रूसको कतार विश्वकप २०२२ छनोट लक्ष्यमा पूर्णविराम लागेको छ।

फिफा र युएइफएले संयुक्त विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि रूसमाथि सबैखाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो। साथै युइएफएले रूसी महारथी गाजप्रोमसँगको प्रायोजना सम्झौतासमेत रद्द गरेको थियो।

रूसले युक्रेनमाथि युद्ध सुरु गरेपछि फिफामाथि उनीहरूमाथि प्रतिबन्ध लगाउन दबाब परेको थियो। फिफाले रूसमा खेल्ने तालिका भएका सबेै खेल तटस्थ स्थलमा खेलाउने बताएको थियो। फिफाले रूसले फुटबल युनियन अफ रूसको नाममा फुटबल खेल्ने र उनीहरूको राष्ट्रिय झन्डा र राष्ट्रिय गानमा प्रतिबन्ध लगाइने जनाएको थियो। तर अरू राष्ट्रले रूसविरुद्धको खेल बहिस्कारको घोषणा गरेसँगै फिफामाथि रूसलाई प्रतिबन्ध लगाउने दबाब थपिएको थियो।

रूसको पुरुष फुटबल टोलीले मार्चमा विश्वकप छनोटको प्लेअफ खेल्ने तालिका रहेको छ। रूसको महिला टोली भने जुनमा इङ्ल्यान्डमा आयोजना युरोपियन च्याम्पियनसिपमा छनोट भइसकेको थियो। यो घोषणासँगै रूसका क्लबहरूले समेत युरोपियन क्लब प्रतियोगिताहरू गुमाउने भएका छन्।

‘फिफा र युइएफएले आज रूस पुरुष र महिला राष्ट्रिय फुटबल टोलीका साथै क्लबहरूमाथि समेत अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेका छन्,’ फिफा र युइएफएले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

रूसले पुरुष राष्ट्रिय फुटबल टोलीले कतार विश्वकप २०२२ को प्लेअफ सेमिफाइनलमा मार्च २४ मा पोल्यान्डसँग खेल्ने तालिका थियो। सो खेलको विजेताले मार्च २९ मा स्विडेन र चेक रिपब्लिकबीचको विजेतासँग प्लेअफ फाइनल खेल्ने तालिका थियो। तर सोमबार मात्र पोल्यान्ड, स्विडेन र चेक रिपब्लिकका सम्बन्धित फुटबल संघले रूसविरुद्ध कुनै पनि खेल नखेल्ने जनाएको थियो।

‘हामी युक्रेनमाथि रूसले गरेको दमनको घोर भर्त्सना गर्छौं। हामी युक्रेनी नागरिकका साथमा छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी रूसले छिट्टै युक्रेनमाथिको युद्ध अन्त्य गर्छ भन्नेमा आशावादी छौं।’ रूस फुटबल संघले भने फिफा र युइएफएले आफूमाथि लगाएको प्रतिबन्धलाई विभेदकारी कदमको संज्ञा दिएको छ।

‘यो विभेदकारी कदम हो। यसले खेलाडीमाथि कुठाराघात गरेको छ,’ रूस फुटबल संघले भनेको छ। रूसी क्लब स्पार्टाक मस्कोले युरोपा लिगको अन्तिम १६ मा आरबी लिपजिकसँग खेल्ने तालिका छ।

प्रकाशित: १८ फाल्गुन २०७८ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App