६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

पुरुषमा आर्मी र महिलातर्फ प्रहरी च्याम्पियन

लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार विभागीय टोली नेपाल आर्मी पुरुष र नेपाल पुलिस महिलातर्फ च्याम्पियन बनेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले टाइम्सलाई ९०–५८ ले सहजै पराजित गर्दै च्याम्पियन बनेको हो।

आर्मीको जितमा आयुश सिंहले सर्वाधिक २६ अंक स्कोर गरे। टाइम्सका सदीश प्रधानले १७ स्कोर गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। सहज जित हात पार्ने क्रममा आर्मीले चारै क्वार्टरमा अग्रता बनायो। आर्मीले क्रमशः २२–१०, २४–२०, १७–१६ र २७–१२ को प्रदर्शन गर्‍यो।

महिलातर्फ अनुसा मल्लको १९ अंक सहयोगमा प्रहरीले रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ ले हरायो। प्रहरीले उपाधिसँगै राउन्ड रोबिन लिगमा रोयलसँग व्यहोरेको हारको बदला पनि लियो। 

राउन्ड रोबिन लिगमा रोयल विजेता तथा प्रहरी उपविजेता बन्दै उपाधि भिडन्त पक्का गरेका थिए। रोयलकी रोशनी श्रेष्ठले १४ अंक जोडिन्। पहिलो क्वार्टरमा दुवैले ८–८ को बराबरी खेले। प्रहरीले दोस्रोमा २०–१५ र तेस्रोमा १४–११ ले अघि रहँदै जितको आधार खडा गरेको थियो।

चौथो तथा अन्तिम क्वार्टरमा रोयलले १५–१० को अग्रता लिए पनि जितका लागि पर्याप्त भएन। च्याम्पियन पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार र दोस्रोले २५ हजार नगद पुरस्कार पाए। नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मीका विनोद महर्जन तथा महिलामा प्रहरीकी अनुुसा मल्ल ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए।

 दुवैले जनही १० हजार नगद पुरस्कार हात पारे। पुरुषमा रोयलका सुदीप पौडेल क्षत्री तथा महिलामा रूपन्देहीकी दीपिका गुरुङ उदीयमान खेलाडी चुनिए। दुवैले समान ७ हजार नगदबाट पुरस्कृत भए।

विजेतालाई संघीय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य, आयोजक संघका अध्यक्ष भीससिंह गुरुङ, स्व. लामाका पिता लामा पासाङ शेर्पा लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

प्रकाशित: १३ फाल्गुन २०७८ ०३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App