२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फ्रेन्ड्स र हिमालयनले अंक बाँडे

रेलिगेसन भइसकेको टोली च्यासल युथ क्लबमाथि १–० को जित निकाल्दै यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा सुखद अन्त्य गर्दा फ्रेन्ड्स र हिमालयन शेर्पाले अंक बाँडेर लिगको समापन गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स र हिमालयन शेर्पाले एकएक गोलको बराबरी खेल्दै अंक बाँडेर लिगको समापन गरेका हुन्। पहिलो हाफमा दुवै टोलीले गोलका लागि धेरै अवसर सिर्जना गरे पनि गोल गर्न भने चुकेका थिए। प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने फ्रेन्ड्सले लिएको थियो। ७३औं मिनेटमा फ्रेन्ड्सले अग्रता पाएको थियो। हिमालयनका दिवस उराउले आत्मघाती गोल गरेपछि फ्रेन्ड्सले १–० को अग्रता बनाएको थियो।

रोनिल एन्थोनी पाउलको फ्रि–किक हेडरमार्फत क्लियर गर्न खोज्दा दिवसले आफ्नै पोस्टमा गोल गरेका थिए। पछि परे पनि त्यसपछि दबाबमा परेको हिमालयनले सम्हालिएको प्रदर्शन गर्‍यो। ८९औं मिनेटमा विसन गुरुङले गोल गरेर खेललाई १–१ गोलको बराबरीमा ल्याउँदै टोलीको हारलाई टारे। यस बराबरीसँगै हिमालयन र फ्रेन्ड्सले लिगको अन्त्य गरेका छन्। हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ। हिमालयन नवौं स्थानमा उक्लिएको छ।

फ्रेन्ड्सले १३ खेलमा ११ अंक जोडेको छ। फ्रेन्ड्स १२औं स्थानमा छ। लिगअन्तर्गत ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न बिहीबारकै अर्को खेलमा सातदोबाटो युथ क्लबले च्यासल युथ क्लबलाई १–० ले पराजित गर्दै सुखद अन्त्य गरेको हो।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा सातदोबाटो युथ क्लबलाई जित दिलाउन मार्टिन्स अजयीले सातौं मिनेटमा गरेको गोल निर्णायक भएको हो। शीर्ष डिभिजन लिगको अन्तिम खेलमा सुखद लक्ष्यका लागि खेले पनि च्यासलको योजना विफल भयो। पहिलो हाफमा पछि परे पनि दोस्रो हाफमा खेलमा फर्किन संघर्ष गरेको च्यासलले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न असफल रहँदा अंक सुम्पिएको हो।

यससँगै यसै सिजन बढुवा भएको सातदोबाटो लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ। सातदोबाटोले १३ खेलमा २१ अंक जोडेको छ। च्यासल १३ खेलमा ६ अंक जोडेर पुछारमा छ। 

शीर्ष डिभिजन लिगको समापन गरेको सातदोबाटोले १३ खेलमध्ये ६ मा जित, ३ मा बराबरी र ४ खेल गुमायो। लिगमा शुक्रबार जावलाखेल युथ क्लब र संकटा क्लब तथा एन्फा कम्पलेक्समा ब्रिगेड ब्वाइज क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १३ फाल्गुन २०७८ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App