लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले सुरु गरिएको ‘दोस्रो लिगलिगे साईकल दौड’ चैत ४ गते हुने भएको छ। प्रतियोगितामा सहभागी हुनका लागी फागुन १० गते मंगलवारदेखि रजिष्ट्रेशन खुल्ला गरिएको आयोजक लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष सञ्जीव राना मगरले बताए।
‘एकदिन हामीले कार्यक्रम आयोजना गरेर वर्षभरि साईकलयात्री यहाँ आउन र यहाँको आर्थिक गतिविधि बढोस् भन्ने उद्देश्य छ,’ अध्यक्ष राना मगरले भने। प्रतियोगितापछि बिभिन्न समुहमा आउनेलाई सशुल्क साईकल रेस गराउने गरी ट्रेल पहिचान गर्ने योजना रहेको उनले बताए।
पालुङटार नगरपालिकाको सहयोग र नेपाल साइकल संघको सहकार्यमा साइकल दौडको आयोजना भएको हो। ५२.९ किलोमिटरको खुल्ला साइकल दौडमा पहिलो दोस्रो तेस्रो, देखि दशौंसम्म हुनेलाई पुरस्कृत गरिने उनले बताए।
महिलातर्फ पनि सोही अनुसार १० जनालाई नगदसहित पुरस्कार प्रदान गरिनेछ। गण्डकी प्रदेशतर्फको प्रतियोगितामा पहिलोदेखि तेस्रो हुनेलाई नगद पाँच, तीन र दुईहजार पाँचसय रुपैयाँ प्रदान गरिने छ। यो बिधा पनि महिला र पुरुषका छुट्टाछुट्टै छन्। पालुङटार नगरपालिका भित्रका स्थानीय महिला पुरुषका लागि छुट्टाछुट्टै बिजेता घोषाण गरिनेछ । दुई हजार पाँच सय, दुई हजार र एक हजार पुरस्कार प्रदान गरिने अध्यक्ष राना मगरले बताए ।
राजिष्ट्रेशनका लागि नेपाली र विदेशी सबैलाई दुईहजार रुपैयाँ मात्र शुल्क निर्धारण गरिएको छ। प्रतियोगितामा सहभागीलाई दुई रात बसोबासको ब्यवस्था गरिएको आयोजकले जनाएको छ। लिगलिगे साईकल दौडको फेसबुक पेजबाट अनलाई फर्म भर्न र ईसेवाबाट पनि रजिष्टेशन गर्न सकिनेछ।
खुल्ला रुपमा गर्न लागिएको उक्त प्रतियोगिताका लागि २० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। जसका लागि पालुङटार नगरपालिबाट पाँचलाख रुपैया विनियोजना गरिएको छ। पुरस्कार राशीका लागि युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशले दुईलाख रुपैयाँ उपलब्ध गराएको र बाँकी रकम जुटाउन बाँकी रहेको आयोजक संस्थाका प्रतिनिधि विजय पाण्डेले बताए। गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका, राइनास नगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
लिगलिगकोटबाट सुरु हुने साइकल दौड प्रतियोगिता आँपपिपल, हर्मी भञ्ज्याङ, थापागाउँ, आँपपिपल हस्पिटल, सिर्दिखोला, भण्डारथोक हुँदै लमजुङको रागिनास नगरपालिका ७ स्थित गरमबेशी, चेपे दोभान हुँदै पालुङटार एयरपोर्ट आइपुग्नेछ। त्यहाँबाट ताल पोखरी, ठाँटी पोखरी, लुईटेल हुँदै सभाचौतारोबाट लिगलिगकोट पुग्ने गरी रुट तय गरिएको छ।
चेपे दोभानदेखि लिगलिगकोटसम्म दौडेर राजा हुने परम्परा रहेको त्यहाँ साईकल रेस प्रतियोगिताले पालुङटारको पहिचान अझै बढ्ने पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले बताए। नेपालमा प्रख्यात र व्यवसायिक रुपमा साईकल रेस गर्ने खेलाडीहरु आउने भएकाले स्थानीयको आयस्रोतमा सकारात्मक प्रभाव पर्ने अपेक्षा नगरपालिकाको छ।
प्रकाशित: ११ फाल्गुन २०७८ १०:२८ बुधबार