१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुलिस र मच्छिन्द्र विजयी, मनाङ र थ्री स्टारले अंक बाँडे

कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार विभागीय टोली नेपाल पुलिस क्लबलाई सातदोबाटो युथ क्लबले पराजित गर्दा अर्को खेलमा तालिकाको शीर्ष स्थानमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लबलाई हराएको छ। तेस्रो खेलमा मनाङ मर्स्याङ्दी र थ्री स्टारले बराबरी खेल्दै अंक बाँडेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिसलाई १–० ले पराजित गरेको हो।सातदोबाटो युथ क्लबलाई जित दिलाउन आकाश बुढामगरले १९ औं मिनेटमा गरेको गोल निर्णायक भयो। यससँगै सातदोबाटोले डेब्यु सिजन मै बलियो टोली मध्येको पुलिसमाथि अर्को सफलता निकालेको हो। यसअघि सातदोबाटोले थ्री स्टार र मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै जारी लिगमा सनसनी मच्याएको थियो।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्रभित्र आकाशलाई फल गरेपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो। जसमा आकाशले पेनाल्टी अवसरलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए। जुन गोल तीन अंकका लागि पर्याप्त बन्यो।

यो जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ। सातदोबाटो पाँचौं स्थानमा उक्लिएको छ। पुलिसले १० खेलमा १० अंक जोड्दै १० औं स्थानमा रहेको छ।

लिगअन्तर्गत दशरथ रंगशालामा नै भएको अर्को खेलमा शीर्ष स्थानको मच्छिन्द्रले रेलिगेशन क्षेत्रको पुछारमा रहेको च्यासलमाथि २–० को जित निकाल्यो। राष्ट्रिय टोलीका खेलाडीले भरिएको मच्छिन्द्रको जितमा विमल घर्तीमगर र सुनिल बलले एक–एक गोल गरे। मच्छिन्द्रले पहिलो हाफमा गरेको गोल नै तालिकामा शीर्षता कायम राख्न सहयोग पुग्यो।

तुलनात्मक रुपमा कमजोर देखिएको च्यासलविरुद्ध मच्छिन्द्रले सुरुआतबाट नै दबाब बनाएको थियो। सोही क्रममा १७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाए। रञ्जित धिमालको कर्नरमा विमलले उत्कृष्ट हेडर गोल गरेका हुन। त्यसको आठ मिनेटपछि सुनिल बलले गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए।

विमलले उपलब्ध गराएको पासमा सुनिलले पेनाल्टी क्षेत्रबाट जाली चुमाएका थिए। तर, दोस्रो हाफको खेलमा भने मच्छिन्द्रलाई झट्का लाग्यो। सुनिलको स्थानमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिष डाँगी विपक्ष च्यासलका यानिक केचासँग जुध्न पुग्दा मैदानमा लडेका थिए। उनलाई तत्काल मैदानमै सीपीआर दिइएको थियो। त्यसपछि थप उपचारका लागि मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पताल लगिएको छ। अस्पताल प्रशासनले मनिष खतरामुक्त भएको भन्दै विज्ञप्पति जारी गरेको छ।

जितपछि शीर्ष स्थानको मच्छिन्द्रको १० खेलबाट २६ अंक भएको छ। समान १० खेलमा ५ अंको जोडेको च्यासल तालिकाको पुछारमा छ।

शनिबारै ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ र थ्री स्टारले १–१ गोलको बराबरी खेले। बराबरीसँगै तालिकाको दोस्रो स्थानमा रहेको मनाङलाई उपाधि होडमा धक्का लागेको छ भने शीर्ष स्थानको मच्छिन्द्रलाई ६ अंकको अग्रता मिलेको छ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए। दोस्रो हाफमा स्पष्ट जितका लागि आक्रामक खेलेका दुबै टोलीले एक–एक गोल गर्दै अंक बाँडे। ६२ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका दयानन्द सिंहले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए।

कप्तान अन्जन विष्टको क्रसमा दयानन्दले हेडरमार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। तर, मनाङको अग्रता धेरै समय टिकेन। ७१ औं मिनेटमा ऋतिक खड्काले गोल गर्दै थ्री स्टारलाई १–१ गोलको बराबरीमा ल्याएपछि बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन सकेन। बराबरीसँगै मनाङले १० खेलमा २० अंक जोडेको छ। मनाङ लिगको दोस्रो स्थानमा यथावत रहँदा थ्री स्टार १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ।

लिगमा आइतबार दुई खेल हुनेछन्। दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। पहिलो खेल न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा तथा दोस्रो खेल आहा राराको पछिल्लो संस्करणको विजेता एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।  

प्रकाशित: २९ माघ २०७८ १५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App