५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

भलिबल खेलाडीलाई जनही पाँच लाख

बंगलादेशमा गत महिना सम्पन्न बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई प्रधानमन्त्री शेरवहादुर देउवाले शुक्रबार नगद पुरस्कार प्रदान गरेका छन्।

बंगलदेशको ढाकामा २०८७ पुस ६ देखि १६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा साबिक विजेता नेपालले उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको थियो। शुक्रबार प्रधानमन्त्री निवास बालुलाटारमा आयोजिक कार्यक्रमका बीच प्रधानमन्त्री देउवाले विजेता खेलाडीलाई जनही ५ लाख प्रदान गरेका थिए।

स्वर्ण पदक विजेता सम्मानित खेलाडीमा कप्तान अरूणा शाही, मनीषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिभा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनीता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारू छन्। स्टार खेलाडी सरस्वती भने घँुडाको शल्यक्रिया भएका कारण अनुपस्थित रहिन्।

त्यस्तै मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादवले समान ३ लाख प्राप्त गरेका छन् भने टिम मेनेजर ज्योति केसीले २ लाख प्राप्त गरेकी थिइन्। सोही अवसरमा विश्व ब्याडमिन्टन महासंघको पुरुष जुनियर एकलतर्फ विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल खेलाडी प्रिन्स दाहाल र फुटबलका विदेशी प्रशिक्षक अब्दुलाह अल्मुताइरीलाई पनि सम्मान गरिएको थियो।

प्रधानमन्त्री देउवाले साफ च्याम्पियनसिप उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई यसअघि नै नगदसहित सम्मान गरिसकेका थिए। त्यस बेला नेपालामा नभएका प्रशिक्षक अल्मुताइरीलाई प्रधानमन्त्री देउवाले शुक्रबार सम्मान गरे। खेलाडी तथा प्रशिक्षक सम्मानपश्चात् प्रधानमन्त्री देउवाले खेलकुद देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र फिँजाउने यौटा महत्वपूर्ण र प्रभावकारी माध्यम भएको बताए।

समापनका अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भलिबल नेपालको राष्ट्रिय खेल भए पनि कभर्डहल नभएकाले त्रिपुरेश्वर हाताभित्रै अन्तर्राष्ट्रिय स्तरको कभर्डहल निर्माणका लागि पहलकदमी गरिने बताए। सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्रबहादुर चन्द, कोषाध्यक्ष सुनकेशरी मालीलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २२ माघ २०७८ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App