डाँगो औटारोले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल १० खेलाडीमा सीमित बुर्किना फासोले अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा ट्युनिसियाविरुद्धको जित लयलाई निरन्तरता दिँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ।
शनिबार बुर्किना फासोले ट्युनिसियालाई १–० ले हराएको हो। बुर्किना फासोले अफ्रिका कप अफ नेसन्समा ट्युनिसियाविरुद्ध क्वार्टरफाइनलमा जित हात पारेको यो लगातार तेस्रो पटक हो। बुर्किना फासोको जितमा नायक बनेका औटारो खेल सकिन ८ मिनेट बाँकी हुँदा भने रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएका थिए।
अली माओलमाथि कुइनोले प्रहार गरेपछि औटारोले रातो कार्डको दर्शन गरेका थिए। रेफ्रीले भिडियो सहायक रेफ्री (भिएआर) हेरेपछि उनलाई रातो कार्ड दर्शन गराएका थिए। यसअघि सन् १९९८ र २०१७ मा पनि बुर्किना फासोले ट्युनिसियाको यात्रा क्वार्टरफाइनलमै पूर्णविराम लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।
बुर्किना फासोमा गत साता मात्र त्यहाँको सेनाले राष्ट्रपति रोज मार्क क्रिस्टियन काबोरेलाई अपदस्त गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। ‘म निकै भावुक छु। हामी अहिले निकै कठिन परिस्थितिबाट गुज्रिरहेका छाैँ, त्यसैले म यो जित सबैका जनताप्रति समर्पण गर्न चाहन्छु,’ बुर्किना फासोका प्रशिक्षक कमोउ मालोले भने, ‘बुर्किनाका जनता सधैँ हाम्रो साथमा छन्, त्यसैले टोली पनि उनीहरूको विश्वासलाई प्रमाणित गर्न चाहन्छ।
कठिन परिस्थितिका बावजुद पनि उनीहरू हाम्रो साथमा छन्। हामी उपाधि जितेर उनीहरूको मुहारमा खुसी फर्काउन चाहन्छाैँ। हामी अब त्यो क्षणबाट दुई कदम मात्र पछि छाैँ।’
त्यस्तै आयोजक क्यामरुनले पनि जाम्बियालाई २–० ले हराउँदै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्यो। नियमित कप्तान एस्टन भिल्लाका स्ट्राइकर बर्नाड टाउरे र उपकप्तान इसौफु डायोको अनुपस्थितिमा गोलकिपर हार्भे कोफीले बुर्किना फासोलाई ऐतिहासिक सफलताको संघारमा पुनः उभ्याएका हुन्। बुर्किना फासो सन् २०१३ मा नाइजेरियासँग पराजित हुँदै अफ्रिका कप अफ नेसन्सको उपविजेतामा सीमित भएको थियो।
यता प्रतियोगिता सुरु हुनुअघि नै टोली सदस्यमा कोभिड १९ संक्रमण भएपछि दबाबमा आएको ट्युनिसियाको यात्रा अन्तिम आठबाट अघि बढ्न सकेन। बुर्किना फासोविरुद्धको खेलमा ट्युनिसियाका कप्तान वाहवी काजरी टोलीमा फर्किएका थिए। ट्युनिसियाले कप अफ नेसन्समा १० पटक क्वार्टरफाइनल प्रवेश गरेको ४ खेलमा मात्र सफलता हात पारेको छ।
प्रकाशित: १७ माघ २०७८ ०१:५८ सोमबार





