१७ माघ २०८२ शनिबार
image/svg+xml
खेल

आहा रारा गोल्डकपः एपिएफलाई पहिलो पटक उपाधि

पोखरामा भएको आहा रारा गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। पोखरा रंगशालामा शनिबार फाइनलमा सर्वाधिक ६ पटकको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै एपिएफले पहिलो पटक उपाधि चुम्दै इतिहास रचेको हो।

यसअघि एपिएफ क्लब २०६४ सालमा फाइनलमा पुगे पनि उपाधि जित्न सकेको थिएन। नेपाल पुलिस क्लबसँग फाइनल खेलेको एपिएफले त्यस बेला २–० ले नतिजा सुम्पिँदै उपाधिबाट वञ्चित हुनुपरेको थियो। विजेता बनेको एपिएफ क्लबले नगद १० लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेतामा चित्त बुझाएको मनाङ मस्र्याङ्दी क्लबले भने नगद ५ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो।  

शनिबार निर्धारित ९० मिनेटको समय समान २–२ गोलको बराबरीमा सकिएको थियो। थप ३० मिनेटको अतिरिक्त समयमा भने दुवै टोलीले गोल गर्न नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा एपिएफ भाग्यमानी ठहरियो। एपिएफका जापानी गोलकिपर कुरियामा युयाले मनाङका विदेशी खेलाडी अफिज ओलावालेको प्रहार रोकेपछि एपिएफको भाग्य चम्किएको हो। मनाङका ओलावालेले प्रहार गरेको पेनाल्टी सुट युयाले सजिलै रोक्दा मनाङ भने सातौं पटक उपाधि जित्नबाट वञ्चित बन्यो।

टाइब्रेकरमा एपिएफका क्याप्टेन नवीन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्ड बिडौमले गोल गरे। मनाङका तर्फबाट भने फ्य्रांक्लिन कुइटे, दयानन्द सिंह, शिव गुरुङ र रूपेश केसीले गोल गरे। निर्धारित समय २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। जसमा आक्रामक रणनीति अपनाएको एपिएफले मनाङमाथि बारम्बार आक्रमण बुन्यो। तर मनाङको मानवनिर्मित फलामे बार छिचोल्न नसक्दा एपिएफ गोल गर्न असफल भयो। एपिएफलाई रोक्न रक्षापंक्ति बलियो बनाएको मनाङले पनि काउन्टर अट्याकमार्फत गोल गर्ने अवसर सिर्जना गर्‍यो तर सदुपयोग भने गर्न सकेन। अन्त्यमा खेल निर्णयका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो।

शनिबारको खेलमा मनाङ मस्र्याङ्दीका रूपेश केसी म्यान अफ दी म्याच घोषित भए। माघ ८ गतेदेखि १५ गतेसम्म भएको २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एपिएफका राजन गुरुङ उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्। उनले एप्रिला स्कुटर र ट्रफी हात पारे। त्यस्तै, मनाङ मस्र्याङ्दीका अफिज ओलावाले बेस्ट स्ट्राइकर, एपिएफका रवि थिङ बेस्ट मिडफिल्डर, एपिएफका राजन गुरुङ बेस्ट डिफेन्डर, एपिएफका गोलकिपर कुरियामा युआ बेस्ट गोलकिपर, सर्वाधिक ३ गोल गरेका एपिएफका रवि थिङ हाइ स्कोरर र एपिएफका प्रशिक्षक कुमार थापा उत्कृष्ट प्रशिक्षक हुन सफल भए। त्यस्तै, त्रिभुवन आर्मी क्लबले बेस्ट फेयर प्ले टिमको उपाधि प्राप्त गर्‍यो।

प्रकाशित: १६ माघ २०७८ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App