१५ चैत्र २०८० बिहीबार
खेल

सबैलाई मौका दिँदै अल्मुताइरी

मोरिसससँग शनिबार नेपाल आमनेसमाने हुँदा नेपालले पहिलो पटक अफ्रिकी देशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ। दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आएको मोरिससविरुद्ध नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिड्दा सुखद नजिताको लक्ष्य लिएर मैदान उत्रिनेछ।

फिफा वरीयतामा नेपालभन्दा तल १ सय ७२औं स्थानमा रहेको मोरिसससँग भिन्न अनुभव बटुल्ने मौका हुने नेपाली टोलीका कप्तान किरण चेम्जोङले बताए। उता भ्रमणकारी टोली मोरिससले भने नेपाललाई रोक्ने रणनीतिका साथ घरेलु टोलीको सामना गर्नेछ।

दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गरेको मोरिससविरुद्ध नेपाल सुखद नतिजाका लागि खेल्नेछ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लािग मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले ३४ खेलाडीलाई नै मौका दिँदै छन्।

त्यसका लागि नेपाली टोली केही सातादेखि मोैरिसससँगको खेलका लागि तयारी गरिरहेको छ। शनिबार नेपालको लक्ष्य अघिल्ला खेलमा भएका कमीकमजोरी सुधार गर्ने हुनेछ। खेलअघिको पत्रकार सम्मेलनमा टोलीका कप्तान चेम्जोङले शनिबार मोरिससविरुद्ध मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताए।

‘अफ्रिकी देशसँग पहिलो पटक हामीले मैत्रीपूर्ण खेल खेल्न लागेका छौं। दुई दिनदेखि म पनि टोलीमा जोडिएको छु। मेरा टिम मेटहरू शारीरिक र मानसिक हिसाबमा तयार छन्,’ कप्तान चेम्जोङले भने, ‘मैत्रीपूर्ण भए पनि हामी जितका लागि खेल्ने हो। हलुका ढंगले लिनु हुँदैन। नतिजा आवश्यक पर्छ हामीले यो खेलबाट धेरै सिक्नुपर्नेछ। हामी तयार छौं।’

पहिलो पटक ३४ खेलाडी राष्ट्रिय टोलीमा समावेश गरेका प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने खेलअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन्। यसअघि सामाजिक सन्जालमा नै मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताएका प्रशिक्षक सामाजिक सन्जालमा सक्रिय देखिए पनि एन्फाले आयोजना गरेको खेलअघिको पत्रकार सम्मेलनमा स्वास्थ्य समस्याका कारण उपस्थित नभएको सहायक प्रशिक्षकले बताए।

जम्बो टोली बनाएका प्रशिक्षक अबदुल्लाहले दुई मैत्रीपूर्ण खेलमा दुई फरक टोलीलाई मैदान उतार्ने अनुमान गरिएको छ। मुख्य प्रशिक्षक अल्मुताइरीको स्थानमा पत्रकार सम्मेलनमा उपस्थित भएका सहायक प्रशिक्षक किरण श्रेष्ठले अफ्रिकी देश भएकाले शारीरिक हिसाबमा बलियो हुने भन्दै टोली संयमित हुँदै खेल्ने बताए। मैत्रीपूर्ण खेल एसियन कप छनोटको तयारीका रूपमा रहेको भन्दै प्रशिक्षक श्रेष्ठले अघिल्ला खेलहरूमा भएका कमीकमजोरीलाई सुधार गर्दै सुखद नतिजाका लागि खेल्ने बताए।

‘हाम्रो लक्ष्य एसियन कम छनोट रहेको छ। यो खेललाई हामीले तयारीका रूपमा हेरेका छौं। त्यसैले ३४ खेलाडीलाई नै आउँदा दिनमा छनोट गर्न सजिलो हुन्छ भनेर समावेश गरेका हौं। अघिल्ला खेलमा भएका कमीकमजोरीलाई सुधार गर्दै राम्रो नतिजाका लागि खेल्छौं,’ सहायक प्रशिक्षक किरण श्रेष्ठले भने, ‘अफ्रिकी देश भएकाले शारीरिक हिसाबमा बलिया हुन्छन्।

फिफा वरीयतामा हामीभन्दा तल भए पनि नेपालको दाँजो गर्दा दुवै टोली उस्तै हौं। टोली संयमित हुँदै राम्रो नतिजाका लागि खेल्छ ।’ यस्तै मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले लामो समयपछि राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय भ्रमण गरेको तथा आफूभन्दा बलियो टोली भएकाले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने बताए। ‘हामीले माल्दिभ्ससँगको खेल हेरेका छौं। नेपाल हाम्रा लागि बलियो प्रतिद्वन्द्वी हो,’ मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले भने, ‘४५ दिनको अभ्यासपछि हाम्रो टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गरेको छ। दुई मैत्रीपूर्ण खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।’

यस्तै कप्तान पनि बलियो नेपालविरुद्ध राम्रो फुटबल खेल्ने बताए। शनिबार हुने पहिलो मैत्रीपूर्ण खेलपछि नेपालले दोस्रो मैत्रीपूर्ण खेल मंगलबार खेल्दै छ। दशरथ रंगशालामा हुने खेल बेलुका ४ः४५ बजे हुँदै छ। सो खेलका लागि एन्फाले एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिँदै छ।

जसमा स्वास्थ्य मापदण्ड कडाइका साथ लागू हुनेछन्। प्रवेशका लागि दर्शकले अनिवार्य पूर्ण खोप लगाएको हुनुपर्नेछ भने रंगशालाको गेटमा नै एन्फाले एन्टिजेन परीक्षण गर्नेछ।

प्रकाशित: १५ माघ २०७८ ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App