३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

सुदूरपश्चिमको साँघुरो हार

अन्तिम पाँच ओभरमा १६ रन बनाउन असफल भएपछि सुदूरपश्चिम प्रदेश प्रधानमन्त्री कप ट्वान्टी–२० क्रिकेटमा सोमबार विभागीय टोली नेपाल पुलिस क्लबमाथि जित निकाल्न चुक्दा त्रिभुवन आर्मी क्लब, बाग्मती प्रदेश र सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले सुखद सुरुआत गरेका छन्।

मूलपानी क्रिकेट मैदानमा ९४ रनको झीनो लक्ष्य पछ्याएको सुदूरपश्चिम निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन मात्र बनाएपछि साँघुरो हार बेहोर्न बाध्य भयो। अन्तिम पाँच ओभरमा चार विकेट बाँकी छँदा १६ रन आवश्यक भए पनि सुदूर अनुभवी पुलिसका बलरसामु निरीह बन्यो।

पुलिसका आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र करण केसीले अन्तिम पाँच ओभरमा निकै कसिलो बलिङ गरेपछि सुदूरपश्चिम जितनजिक पुगेर पनि पराजित भयो। अन्तिम ओभरमा पनि सुदूरलाई जितका लागि ६ रन आवश्यक भए पनि करणले तीन रन मात्र दिए। आरिफले चार ओभरमा ९ रन मात्र खर्चिएर ४ विकेट लिँदा करण केसी, पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिँदै झीनो लक्ष्य जोगाए।

मध्यम सुरुआत गरेको सुदूरका लागि ओपनरद्वय गजेन्द्र बोहोराले २७ रन र खडक बोहोराले १३ रन बनाए। सातौं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंहले गजेन्द्रलाई एलबिडब्लु आउट गरेपछि सुदूरले एकपछि अर्को विकेट गुमाउन पुग्यो। यद्यपि, मध्य क्रमका नारायण जोशीले इनिङ समाल्ने प्रयास गरे पनि करणले उनलाई आरिफबाट क्याच गराए।

आठौं विकेटका रूपमा आउट भएका नारायणले २२ रन जोड्दा समान दुई छक्का र चौका हिर्काए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले पनि मध्यम सुरुआत गरे पनि पहिलो विकेटपछि लगातार विकेट गुमायो। २० ओभर नै खेलेको पुलिस आठ विकेटको क्षतिमा ९३ रन मात्र जोड्न सफल भयो। ओपनरद्वय कुशल भुर्तेलले २१ रन र पवन सर्राफले २० रन बनाए। छैटौं ओभरको पाँचौं बलमा पवन नारायण जोशीको बलमा पवेलियन फर्के।

मध्य क्रमका आरिफले १० रन बटुल्नुबाहेक अन्यले दोहोरो अंकमै रन बटुल्न सकेनन्। सुदूरपश्चिमका नारायण जोशी र आदित्य महताले समान तीन विकेट लिँदा शेर मल्लको नाममा दुई विकेट रह्यो। राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य रहेको पुलिसविरुद्ध सुदूरले राम्रो बलिङ गरे पनि ब्याटिङ चल्न नसक्दा हार बेहोर्‍यो।

सोमबार नै अर्को विभागीय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ६३ रन र एपिएफले प्रदेश–२ लाई २४ रनले हराउँदै सुखद सुरुआत गर्दा बाग्मतीले लुम्बिनी प्रदेशमाथि ४९ रनको जित निकाल्यो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा १ सय १७ रन पछ्याएको कर्णाली १४.४ ओभरमा ५३ रनमै अलआउट भएपछि आर्मीले सहज जित निकाल्यो।

आर्मीका तीव्र गतिका बलर जितेन्द्र मुखियासामु कर्णाली निरीह बन्यो। उनले कर्णालीका शीर्ष तीन ब्याट्सम्यान कप्तान रवीन्द्रलाई १५ रनमा एलबिडब्लु सिकार गर्दा विपिन रावल र हेमन्त ओलीलाई शून्यमै बोल्ड गरे।

जितेन्द्रले चार ओभरमा चार विकेट लिँदा १५ रन मात्र खर्चिए। सुशन भारी र साहब आलमले समान दुई विकेट निकाल्दा विक्रम सोब र सोमपालको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको १० खेलाडीमा सीमित आर्मीले १९.१ ओभरमा अलआउट हुनुअघि १ सय १६ रन बनायो। सोनु तामाङ ब्याटिङमा रिटायर्ट हर्ट भएपछि फिल्डिङमा १० खेलाडीमा सीमित थियो।

म्याच रेफ्री समीर खानले आर्मीका प्लेयर सिटमा नाम रहेका सोनु ब्याटिङमा नआउनुको कारण स्पष्ट हुन नसकेकाले विभागीय टोलीलाई फिल्डिङमा एक खेलाडीबिना खेल्नुपर्ने नियम लागू गरे। आर्मीले फिल्डिङमा अर्को खेलाडी पठाए पनि अम्यायरले अस्वीकार गरेका थिए।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २९ रन बनाउँदा हरि चौहानले २० रन बटुले। कुशल मल्ल र रोहित पौडेलले समान १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। कर्णालीका प्रकाश जैसीले तीन र अनुज चुनाराले दुई विकेट निकाले।

ओपनरद्वय प्रदीप ऐरी र आसिफ शेखको अर्धशतकीय योगदानमा एपिएफले प्रदेश–२ माथि २४ रनको जित निकाल्यो। प्रदीपले ६० रन बटुल्दा ९ चौका हिर्काए। आसिफको ६३ रनको इनिङमा तीन चौका र पाँच छक्का रह्यो। कठिन लक्ष्य पछ्याएको प्रदेश–२ ले निर्धारित ओभर नै खेले पनि ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बटुल्यो।

अर्को खेलमा सुवास खकुरेलको अर्धशतकीय प्रेरणामा बाग्मतीले लुम्बिनीमाथि ४९ रनको जित निकाल्यो। १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी १५.४ ओभरमा ६५ रनमै समेटियो। बाग्मतीका नन्दन यादवले तीन विकेट तथा रामनरेश गिरि, सुवास खत्री र तिलक भण्डारीले समान दुई विकेट लिँदै लुम्बिनीको इनिङ धराशयी बनाए।

लुम्बिनीका कप्तान कृष्ण कार्कीले १६ रन र बसिर अहमदले ११ रन बनाए। त्यसअघि बाग्मतीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदा १ सय १४ रन बनायो। बाग्मतीका सुवासले ५१ बनाए।

प्रकाशित: २७ पुस २०७८ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App