१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

लयमा थ्री स्टार

हिमालयन शेर्पाका खेलाडीबीचबाट हेड बल गर्ने प्रयास गर्दै थ्री स्टारका अनन्त तामाङ (नीलो)। तस्बिर सौजन्य :एन्फा

थ्री स्टार क्लबका प्रशिक्षक उर्जन श्रेष्ठले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हात पारेको लगातार दोस्रो जितले टोलीको मनोबल थप बढेको बताएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई २–० ले हराएको हो। थ्री स्टारको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा च्यासलमाथि सहज जितसहित लिगमा उत्कृष्ट सुरुआत गरेको थ्री स्टार दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग स्तब्ध भएको थियो।

तेस्रो खेलदेखि छैटौं खेलसम्म भने थ्री स्टारले ४ खेलमा मात्र ४ अंक जोडेपछि दबाबमा आएको थियो। साताैँ चरणमा जावलाखेलमाथिको जितपछि भने टोली जितको लयमा फर्किएको श्रेष्ठको दाबी थियो।थ्री स्टारको जितमा ऋतिककुमार खड्का र घानिफो अंशुमाना कोम्हले समान एक गोल गरे।

थ्री स्टार ८ खेलमा १३ अंकसहित तालिकाको पाँचाैँ स्थानमा उक्लिएको हो। जुन शीर्ष स्थानको मच्छिन्द्र फुटबल क्लबभन्दा ७ अंक कम हो। समान खेलमा १९ अंक बटुलेको मनाङ दोस्रो स्थानमा छ भने समान खेलमा तेस्रो स्थानको संकटा र चौथो स्थानको त्रिभुवन आर्मी क्लबको १४ अंक रहेको छ।

५९औं मिनेटमा ऋतिकले गरेको प्रहारले जाली चुम्दा थ्री स्टारले अग्रता लिएको थियो। इन्जुरी समयको पाँचौं मिनेटमा घानिफो अंशुमानाले लाकेन लिम्बुको पासमा गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारेका थिए।

‘हामी लगातार अंक बाँड्दा दबाबमा थियौं। साताैँ चरणमा जावालाखेलविरुद्धको जितले टोलीको मनोबल बढेको थियो,’ श्रेष्ठले भने, ‘आजको जितले टोली थप उत्साही भएको छ। हाम्रो टोलीमा प्रोपर स्ट्राइकरको अभाव थियो। साताैँ चरणमा घानिफो अंशुमानालाई भित्र्यायाएपछि टोली लयमा देखिएको छ। आज उनले पनि एक गोल गरे। त्यसले उनको पनि मनोबल बढेको हुनुपर्छ। हामीले राम्रो स्थानमा बस्दै सिजनको अन्त्य गर्नेमा विश्वस्त छाैँ।’

हिमालयन शेर्पाले पछिल्लो ३ खेलमा शतप्रतिशत नतिजा ल्याएको थियो। तर चौथो खेलमा आएर हिमालयन शेर्पाको जितलयमा पूर्णविराम लागेको हो।

हिमालयन शेर्पाका प्रशिक्षक युगलकिशोर राईले पहिला हाफमा टोलीले लिएको रणनीतिअनुसारको प्रदर्शन गर्न नसक्दा दोस्रो हाफमा दबाब झेल्नुपरेको र त्यो नै हारको कारण रहेको बताए।

‘हामी लगातार जितको लयमा थियौं। आज पनि जितकै लागि आएका थियौं,’ राईले भने, ‘फुटबलमा राम्रो खेलेर मात्र अंक बटुल्न सकिँदैन, त्यसका लागि पाएका अवसरको सदुपयोग गर्नुपर्छ। जुन आज हामीले गर्न सकेनाैँ। थ्री स्टारले हाम्रा खेलाडीले दिएको गोल उपहारमा अग्रता लियो। त्यो नै खेलको टर्निङ प्वाइन्ट बन्यो।’

प्रकाशित: २६ पुस २०७८ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App