१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

भलिबल खेलाडीको क्रिकेटमा जादु

बंगलादेशका इबादत हुसेन केही वर्षअगाडि मात्र एयर फोर्सबाट भलिबल खेल्थे। उनको परिचय भलिबल क्षेत्रमा सीमित थियो। बुधबार भने उनले अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै परिचय बनाए, त्यो परिचय क्रिकेटबाट सम्भव बन्यो। सन्दर्भ हो, बंगलादेश क्रिकेट टोलीले न्युजिल्यान्डमाथि रचेको ऐतिहासिक जित।

बुधबार बंगलादेशले टेस्ट क्रिकेट इतिहासमा पहिलो पटक न्युजिल्यान्डमाथि ६ विकेटको जित निकाल्दा यिनै इबादत एक नायक साबित भए। माउन्ट माउन्गनुईमा हरेक विकेट लिएपछि २७ वर्षे तीव्र गतिका बलर इबादतले हरेक ब्याट्सम्यानलाई सलामी अर्पण गर्थे।

उनको त्यो हरकत ब्याट्सम्यानले मैदानमा दिएको सेवाका लागि थियो। पाहुना टोली बंगलादेशका इबादतले ६/४६ को यादगार प्रदर्शन गरे। उनको त्यो प्रदर्शन म्यान अफ दी म्याचका लागि पर्याप्त बन्यो। साथै उनले क्रिकेटमा प्रवेश गर्ने निर्णय सही थियो भन्ने पनि प्रमाणित गरिदिए। अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई नयाँ उचाइमा डोर्‍याए।

पहिलो इनिङमा भने एक विकेट लिँदा ७५ रन खर्चे। उनी न्युजिल्यान्ड आउनुअघि टेस्ट क्रिकेटमा १० खेलमा ११ विकेटको आँकडा थियो, जुन औसत ८५.५४ हो। इबादतको खराब प्रदर्शनका बावजुद बंगलादेशका छनोटकर्ताले उनीमाथि विश्वास राखे। त्यो विश्वास नै बंगलादेशको क्रिकेट इतिहासमा लोककथाका रूपमा परिणत भएको छ।

सन् २०१६ को कुरा थियो, जति बेला उनी आफ्नो घरबाट तीन सय ५० किलोमिटर यात्रा गरेर बलिङको प्रतिस्पर्धामा सहभागी भए। त्यो प्रतिस्पर्धाबाट तीन जना छनोट भए।

तीमध्ये एक थिए, इबादत। त्यसपछि मात्र उनी सन् २०१९ मा ढाकामा भएको अभ्यासमा सहभागी भए। त्यो समय उनी टोलीमा छनोट भए। उनको बलिङको गति राम्रो भए पनि फिटनेसमा समस्या थियो।

इबादतले यो सफलताका लागि बलिङ प्रशिक्षक ओटिस गिब्सनसँग निकै कडा परिश्रम गरेको बताए। ‘मैले अझै पनि बलिङबारे धेरै सिक्नुपर्नेछ। अवेमा रिभर्स गर्न मलाई अझै सहज छैन,’ इबादतले भने, ‘आजको खेलमा पनि स्टम्पमा बलिङ गर्न निकै संघर्ष गरेँ। अझै मैले धेरै धैर्य गर्नुपर्छ।’

पक्का क्रिकेटर थिएनन्

उनी केही वर्ष अगाडिदेखि बंगलादेशका एयर फोर्सका भलिबल खेलाडी हुन्। जहाँ उनले सलामीको महत्त्व बुझेका थिए। सोही सलामी उनले आफ्नो हरेक विकेटमा ब्याट्सम्यानलाई अर्पण गरे। ‘म बंगलादेश एयर फोर्सको सिपाही हुँ। त्यसैले मलाई सलामी कसरी गर्ने भन्ने जानकारी छ।

यो कथा भलिबलदेखि क्रिकेटसम्मको हो,’ इबादतले भने, ‘तथापि, अहिले बंगलादेश र बंगलादेश एयर फोर्सबाट क्रिकेट खेल्दा निकै खुसी छु।’ १ सय ३० रनले पछाडि परेको स्थितिबाट दोस्रो इनिङको सुरुआत गरेको न्युजिल्यान्डले १४७/५ बाट संघर्ष गर्‍यो। यस क्रममा इबादतले सात बलको अन्तरमा बिनारन तीन विकेट लिए। त्यससँगै न्युजिल्यान्डलाई भेट्रान ब्याट्सम्यान रोस टेलरबाट कुनै जादुमयी प्रदर्शन आवश्यक थियो।

तथापि, यो दिन इबादतको थियो। त्यसैले उनले टेलरलाई सफल हुन दिएनन्। उनको आउट स्विङ बलमा टेलर ४० रनमा बोल्ड भए। उनी काँचा थिए, जहाँ उनलाई फिल्ड व्यवस्थापन र मार्गदर्शनमा सिनियर खेलाडीको पनि साथ मिल्यो। ‘उनी जहिले पनि केही नयाँ गर्ने प्रयासमा हुन्छन्। त्यसैले सिक्न चाहन्छन्। जब उनमा आत्मविश्वास भरिन्छ तब यस किसिमको बलिङ गर्छन्,’ बलिङमा प्रशिक्षक गिब्सनले भने। विकेट किपर लिटन दासले छोटो समयमा इबादतले धेरै प्रगति गरेको भन्दै उनको तारिफ गरे। 

प्रकाशित: २२ पुस २०७८ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App