राष्ट्रिय जागृति क्लब र धरान फुटबल क्लब इटहरीमा जारी सुनसरी जिल्ला स्तरीय ‘ए’ डिभीजन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।
लिग अन्तरगत मंगलबार भएको तेस्रो चरणका अन्तिम खेलमा जित निकाल्दै समूह ‘ख’ बाट समूह विजेता र उपविजेता बन्दै दुवै क्लब सेमिफाइनल प्रवेश गरेका हुन्। यो संगै जिल्ला लिगको सेमिफाइनल समीकरण समेत पुरा भएको छ। अब सेमिफाइनलमा धरान फुटबल क्लबले न्यू स्टार क्लब बराहक्षेत्रसंग बिहीबार पहिलो खेल खेल्नेछ। सोही दिन राष्ट्रिय जागृति क्लबले धरानको गोधुली फुटबल क्लबसँग दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ।
इटहरी रंगशालामा मंगलबार भएको पहिलो खेलमा राष्ट्रिय जागृति क्लबले लगातार तेस्रो जित निकाल्ने क्रममा धरानको टेम्के क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै समुहको शिर्ष स्थानसहित सेमिफाइनल प्रवेश गरेको हो। उसको जितमा म्यान अफ दि म्याच निकेष तामाङ्ले खेलको २१औं मिनेटमा गोल गर्दा स्मित तामाङ्ले २५ औं मिनेटमा गोल गरे।
मंगलबार नै भएको दोस्रो खेलमा धरान फुटबल क्लबले इटहरी फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। धरानको जितमा सुगम जीमी र रिवश मास्केले एक/एक गोल गरे। जीमीले खेलको १९औं र मास्केले २९औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच रिवश घोषित भए। अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीको आयोजनामा सुरु भएको लिगको फाइनल खेल पुस २५ गते हुनेछ।
प्रकाशित: २० पुस २०७८ १२:५६ मंगलबार