१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

‘अदालतको आदेशले खेलक्षेत्रमा असर’

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सर्वाेच्चको अल्पकालीन आदेशले खेलक्षेत्रमा दीर्घकालीन असर पर्ने बताएका छन्। सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को कार्यालयमा मंगलबार संस्थाको १२औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव र बोर्ड सदस्यको बर्खास्तीमा अदालतको अन्तरिम आदेशप्रति असन्तुष्टि जनाउँदै उक्त भनाइ राखेका हुन्।

आफ्नो जिम्मेवारीअनुरूप काम गर्न नसकेको भन्दै मन्त्री गहतराजले राखेपका सदस्यसचिवबाट रमेशकुमार सिलवालसहित ९ जना बोर्ड सदस्यसलाई बर्खास्त गरेका थिए। तर, सिलवालसहित पाँच जना सदस्य अदालत गए। सो रिटमा अदालतले अल्पकालीन आदेश दिएको थियो।

यद्यपि, मंगलबार नै उच्च अदालत पाटनले अन्तरिम आदेश दिँदै पाँच सदस्यलाई काममा फर्कने वातावरण सिर्जना गरिदिएको छ। यता सिलवालविरुद्धको मुद्दामा भने सर्वोच्चले माघ ३ गतेका लागि पेसी तोकिदिएको छ।

अदालतले खेलकुद क्षेत्रको कार्यकारी निकाय राखेपको नेतृत्व नियुक्ति र बर्खास्तका सम्बन्धमा परेका मुद्दामा फैसला गर्न ढिलाइ गरेपछि एसियन गेमको तयारी र नवौं राष्ट्रिय खेलकुदको आयोजना अलपत्र परेको छ।

सोही विषयप्रति चिन्ता व्यक्त गर्दै मन्त्री गहतराजले देशको समग्र खेलक्षेत्रलाई प्रभावित पार्ने मुद्दालाई अग्रताधिकारमा राखेर हेर्नुपर्नेमा जोड दिए।

‘अदालतको निर्णय पालना गर्न सरकार तयार छ। तर यसको जतिसक्दो चाँडै  फैसला हुने अपेक्षा छ,’ मन्त्री गहतराजले भने। साधारण सभाको उद्घाटनका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलक्षेत्रलाई अलपत्र पार्ने किसिमका गतिविधि हुन नहुनेमा जोड दिए। ‘खेलकुदका विषयमा निर्णय गर्न अदालतले विलम्ब गर्नुहुन्न,’ श्रेष्ठले भने, ‘अदालतमै खेलकुदका गतिविधि सञ्चालन हुने अवस्था विकास भएको छ। खेलकुदका काम ठप्प छन्। खेलकुद मैदानमा हुनुपर्ने हो। अदालतको बहसमा खेल क्षेत्र जानुपरेको छ।’

उनले ऐनसँग सामीप्य राख्ने तवरले नियमावली बन्ने आशा पनि व्यक्त गरेका छन्। एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले अहिले नेपाली खेलकुदमा अन्योल छाएको उल्लेख गर्दै त्यसको समाधान चाँडैभन्दा चाँडै हुनुपर्ने बताए। ‘अहिले नेपाली खेलकुद अन्योलग्रस्त रहे पनि मन्त्रालयअन्तर्गत कमिटी बनाएर आसन्न राष्ट्रिय खेलकुद र एसियाली खेलकुदको तयारी सुरु गर्नुपर्छ,’ श्रेष्ठले भने। १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि खेल संघलाई दिने भनिएको पुरस्कार राशि चाँडै उपलब्ध गराउनसमेत श्रेष्ठले माग गरेका छन्।

साधारण सभाको बन्द सत्रमा महासचिव नीलेन्द्रराज श्रेष्ठले सन् २०२१ को प्रगति विवरण पेस गर्दै सन् २०२२ का लागि कार्यक्रम पनि प्रस्तुत गरेका थिए। कोषाध्यक्ष रतनकुमार टण्डनले आर्थिक वर्ष ०७७/०७८ को आयव्यय विवरण पेस गरे। उक्त साधारणसभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पनि पास गर्‍यो। सोही अवसरमा एनओसीअन्तर्गत रहेका विभिन्न कमिसनका अध्यक्षहरूले पनि आफ्नो प्रगति विवरण पेस गरेका थिए।

मार्केटिङ कमिसनका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले सन् २०२१ बाट एनओसीले घोषणा गरेका ९ फरक विधाका अवार्डबारे पनि जानकारी दिए। आगामी वर्षदेखि पत्रकारिताअन्तर्गत छापा, मल्टिमिडिया, फोटो पत्रकारिता, भ्युजल मिडिया, खेलतर्फ पुरुष र महिला, प्रशिक्षकमा पुरुष र महिला तथा खेलतर्फ उत्कृष्ट संघलाई अवार्ड प्रदान गर्ने भएको छ।

प्रकाशित: १४ पुस २०७८ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App