१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः उपाधि एपिएफलाई

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि विभागीय टिम एपिएफ क्लबले हात पारेको छ। धनगढीमा पुस ३ गतेदेखि जारी प्रतियोगितामा एपिएफले प्रदेश १ लाई पराजित गर्दै जितेको हो।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पियन भएको हो। उपाधि जितेसँगै विभागीय टिम एपिएफले नगद ५ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता भएको प्रदेश १ ले नगद ३ लाखसहित ट्रफी र मेडल पाएको हो।

एपिएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट क्षतिमा ६७ रन बनायो। खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन बनाइन्। अप्सरी वेगमले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्। एपिएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिइन्।

प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपिएफले १४ दशमलव २ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्यो। एपिएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन्। ममता चौधरीले १७ रन थपिन्। ७ रनमा दुई विकेट गुमाएर दबाबमा आएको एपिएफलाई ज्योति र ममताले जितसम्म डोराएकी हुन्। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन्। खेलमा एपिएफकी सीता रानामगर प्लेयर अफ द म्याच भइन्।

यस्तै प्रतियोगिताका विधामा भने प्रदेश १ ले कब्जा जमाएको छ। प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सओम्यान र उत्कृष्ट बलर गरी तीन वटै विधामा प्रदेश १ ले बाजी मारेको हो। प्रदेश १ की कप्तान रुविना क्षेत्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी भइन्। उनले नगद २५ हजारसहित मेडल पाइन्। उनले प्रतियोगितामा ५ खेल खेल्दा १५७ रन बनाइन्। जसमा उनको एक अर्धशतक सामेल रहेको छ। सर्वाधिक ७६ रनको पारी खेलेकी उनले प्रतियोगितामा १९ चौका प्रहार गरिन्। बलिङतर्फ पनि उनी सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा रहँदा ८ विकेट हात पारिन्।

प्रतियोगिताभर १६ ओभर बलिङ गरेकी उनले २ दशमलव ७५ को इकोनोमीमा ४ ओभर मेडन राख्दै ४४ रन खर्चिन्।

प्रतियोगितामा प्रदेश १ की अप्सरी वेगम उत्कृष्ट ब्याट्ओम्यान भइन्। उनले प्रतियोगितामा एक सय ७६ रन बनाइन्। जसमा उनले दुई वटा अर्धशतक बनाएकी थिइन्। प्रतियोगितामा दोहोरो अर्धशतक बनाउने एक्ली खेलाडी वेगमले १ छक्का हाल्दा ९ चौका प्रहार गरिन्। प्रतियोगितामा प्रदेश १ कै अलिशा खाडिया उत्कृष्ट बलर भइन्। उनले प्रतियोगिताका ५ खेलमा ९ विकेट लिएकी थिइन्। १७ ओभर बलिङ गरेकी उनले २ दशमलव ५२ को इकोनोमी राख्दा ५ ओभर मेडन गर्दै ४३ रन खर्चिन्।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।

प्रकाशित: ११ पुस २०७८ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App