धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा विभागीय टिम एपिएफ सेमिफाइनलमा पुगेको छ। पहिलो खेलमा एपिएफले सुदूरपश्चिमलाई ८९ रनले हरायो। लगातार दोस्रो जितसँगै एपिएफ सेमिफाइनल प्रवेश गरेको छ। यस्तै दोस्रो खेलमा प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना कायम राखेको छ। समूह ‘बी’ मा दुई खेलमा दुवैमा जित हात पार्दै एपिएफ चार अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। समान दुई खेल खेलेका सुदूरपश्चिम र प्रदेश नम्बर २ को एकमा जित र एकमा हारसहित दुई अंक रहेको छ।
रन रेटमा सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा रहेको छ भने प्रदेश नम्बर २ तेस्रो स्थानमा रहेको छ। चौथो स्थानमा रहेको गण्डकी प्रदेश दुई खेलमा जितविहीन हुँदै अंकविहीन भएर पुछारमा छ।
धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा एक सय २८ रन बनायो। एपिएफका लागि ओपनर इन्दु बर्माले सर्वाधिक ३३ रन जोड्दा राजमती ऐरीले १९, रोमा थापाले १६ र सरिता मगरले १४ रन जोडे। सुदूरपश्चिमका लागि कप्तान ऋतु कनौजियाले तीन तथा दीपा जोरा र कविता जोशीले समान दुई विकेट लिए।
एक सय २९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमको पारी एपिएफको बलिङसामु टिक्न सकेन। सुदूरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमका लागि कप्तान ऋतु कनौजिया र रुवि पोदारले समान १० रन बनाए। अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन्। एपिएफका लागि करुणा भण्डारीले ४ विकेट लिइन्। सोनु खड्का, रेखा रावल र सीता राना मगरले समान १ विकेट लिइन्। खेलमा ४ विकेट लिएकी एपिएफकी करुणा भण्डारी प्लेयर अफ द म्याच भइन्।
यस्तै समूह ‘बी’ अन्तर्गत बुधबार नै भएको दोस्रो खेलमा भने प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई हराएको छ। पहिलो खेलमा एपिएफसँग हार व्यहोरेको प्रदेश नम्बर २ ले गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राखेको हो। लगातार दुई हारसँगै गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरिएको छ।
टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकी प्रदेश ३९ रनको झिनो योगफलमा समेटियो। १७ दशमलव १ ओभरमा सबै विकेट गुमाएको गण्डकीका लागि अञ्जली विश्वकर्माले सर्वाधिक १५ रन बनाइन्। अन्य खेलाडीले दोहोरो रन अंक छुन नपाउँदा गण्डकीले १३ रन अतिरिक्त पाएको थियो। प्रदेश नम्बर २ का लागि सन्तोषी चौधरीले ३ विकेट लिइन्। त्यस्तै अनुराधा चौधरीले २, रोजी कडारी र सरस्वती चौधरीले समान एक विकेट लिइन्। ४० रनको विजय लक्ष्य प्रदेश नम्बर २ ले ३ विकेट क्षतिमा भेट्टायो। १० दशमलब ३ ओभरमा जित हात पार्नका लागि ओपनरद्वय साना प्रविन र अनुराधा चौधरीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरिन्। सानाले १३ रन बनाउँदा अनुराधाले १२ रन बनाइन्। गण्डकी प्रदेशका लागि शीला क्षेत्रीले एक विकेट लिइन्। खेलमा प्रदेश नम्बर २ की सरस्वती चौधरी प्लेयर अफ द म्याच भइन्। प्रतियोगिता अन्तर्गत बिहीबार लिग चरणका अन्तिम दुई खेल हुनेछन्।
लिग चरणका दुवै खेल समूह बी का रहेका छन्। पहिलो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश २ खेल्नेछन्। अर्को खेलमा गण्डकी प्रदेश र एपिएफ खेल्नेछन्।
प्रकाशित: ७ पुस २०७८ ११:४९ बुधबार