१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

उपाधि जित्ने नेपालको लक्ष्य

मंगलबारबाट बंगलादेशको ढाकामा आयोजना हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली पुरुष तथा महिला टोलीलाई नेपाल भलिबल संघले आइतबार बिदाइ गरेको छ।

महिला तथा पुरुष टोलीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र भलिबल संघका पदाधिकारीले बिदाइ गरेका हुन्। दुवै टोली टोली सोमबार १२ बजे ढाका प्रस्थान गर्नेछ। बिदाइपछि नेपाली पुरुष टोलीका कप्तान इम रानामगरले मेडलका लागि टोलीले प्रतिस्पर्धा गर्ने बताए। ‘छोटो समयको तयारी राम्रो भएको छ।

प्रतियोगितामा बलियो टोलीका रूपमा श्रीलंका र उब्जेकिस्तान हुन्। बंगलादेश र माल्दिभ्सलाई हराएको अवस्थामा पदक प्राप्त गर्न सक्छौं,’कप्तान इमले भने, ‘बलियो टोलीसँग पनि प्रतिस्पर्धात्मक खेल खेल्नेमा आशावादी छौं। अघिल्लो संस्करणको सहभागिताभन्दा राम्रो गर्ने लक्ष्य छ।’ पुरुष टोलीमा मानबहादुर श्रेष्ठ र भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।

महिलातर्फ प्रतियोगिताको साविक विजेताको रूपमा सहभागी हुन लागेको नेपालले उपाधि रक्षा गर्ने लक्ष्य बनाएको छ। कप्तान अरूणा शाहीले विगतको भन्दा राम्रो प्रदर्शन गरेर उपाधि रक्षा गर्ने बताइन्।

टोलीमा नयाँ र अनुभवी खेलाडीको संयोजन भएकाले अघिल्लो संस्करणभन्दा राम्रो प्रदर्शन गरेर स्वदेश फर्किने उनको भनाइ थियो। ‘साविक विजेता भएर खेल्न जाँदैछौं।

पहिलाको भन्दा उत्कृष्ट खेल खेल्नेछौं। सोहीअनुसार तयारी पनि छ,’ कप्तान अरूणाले भनिन्, ‘टिममा नयाँ र अनुभवी खेलाडीको संयोजन छ। राम्रो नतिजा आउनेमा आशावादी छौं।’ नेपाली महिला टोलीमा ब्यापक परिवर्तन भएको छ। यो संस्करणमा लक्ष्मी चन्दले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएकी छन्।

यस्तै शासन्त थारु, कृपा अधिकारी, कामना विस्ट र मनीषा चौधरीले टोलीमा पुनरागमन गरेका छन्। डिसेम्बर २१ देखि २९ तारिखसम्म आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ पाँच टोलीले सहभागिता जनाउँदै छन् भने महिलामा ६ टोलीले चुनौती प्रस्तुत गर्दै छ।

पुरुषतर्फ आयोजक बंगलादेश, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्बेकिस्तान गरी ५ राष्ट्रको सहभागिता रहनेछ। महिलामा भने आयोजक बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता रहनेछ।

प्रकाशित: ५ पुस २०७८ ०५:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App