१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

घरेलु मैदानमा मनाङको जितसँगै शीर्ष स्थानमा

दोस्रो गोल गरेपछि मनाङका कप्तान अन्जन विष्ट सेलिब्रेसन गर्दै। तस्बिर: उमेश पुन

घरेलु मैदानमा मनाङ मर्स्याङ्दीले स्पष्ट तीन अंक जोड्दै कतार एयरवेज ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार पोखरा रंगशाला फुटबल मैदानमा मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई ३–१ गोलले पराजित गर्दै पोखराको मैदानमा गर्विलो छविलाई अझ उचाईमा पुर्‍याएको छ।

प्लेयर अफ दि म्याच कप्तान अन्जन विष्टले दुई र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका निशान लिम्बुले गोल गरेपछि पुलिसलाई पोखराको मैदानमा मनाङले सहजै जित निकाल्दै ३ अंकसहित शीर्ष स्थानमा उक्लियो। नेपाल पुलिस क्लब पहिलो हाफ भन्दा दोस्रो हाफमा कमजोर देखिँदा मनाङले जितको गोल दोस्रो हाफमै सम्भव बनाएको थियो।

खेलको १० औं मिनेटमा मनाङ मर्स्याङ्दीले गोल गर्दै घरेलु मैदानमा अग्रता लियो। लङपासमा पुलिस क्लबका गोलकिपर रोशन खड्का क्लियर गर्न अगाडि बढेको अवस्थामा मनाङ मर्स्याङ्दीका कप्तान विष्टले गोल गरे। डिबक्स लाईन अघि हेड गरेर क्लियर गर्न खोजेको बल गोलकिपर विट भईसकेपछि विष्टले सहजै बललाई पोष्टको दिशा दिँदै अग्रता दिलाएका थिए।

तर पहिलो हाफ हुनु भन्दा अघि नेपाल पुलिस क्लबले पेनाल्टी मार्फत कमब्याक गोल गर्दै बराबरी गर्यो। मनाङ मर्स्याङ्दीका डिफेण्डर सरोज योन्जन मोक्तानले निरकुमार राईलाई लडाएपछि पुलिसले पेनाल्टीको अवसर पायो। ३६ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सुमन लामाले गोल गर्दै पुलिसलाई खेलमा फर्काए।

पहिलो हाफमा दुबैले खासै गोलको लागि महत्वपूर्ण अवसर भने सृजना गरेनन्। ७ औं मिनेटमा मनाङले पुजन उपरकोटीले हानेको फ्रिकिकलाई सदुपयोग गर्न सकेन। त्यसभन्दा अघि ५ औं मिनेटमा नेपाल पुलिस क्लबले अजित भण्डारीको लङ फ्रिकिक बललाई रवि पासवानले बललाई हेड गर्न खोजेपनि भेटेनन्।

खेलको ७२ औं मिनेटमा मनाङ मर्स्याङ्दीले गोल गर्दै फेरि अग्रता लियो। पुलिसका डिफेण्डर सन्तोष हेमरुनको डिबक्सलाईन(आर्कभित्र) नजिकै ह्याण्ड भएपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो। फ्रिकिकलाई कप्तान अन्जन विष्टले ‘ग्रास सट’ हिर्काउँदै गोल गरेपछि मनाङले स्पष्ट जित तर्फ उन्मुख हुन पुग्यो।

दोस्रो हाफमा पुलिसले खासै मौका जुराउन सकेन। दर्शकको पूर्ण समर्थन पाएको मनाङ मर्स्याङ्दीले ७७ औं मिनेटमा सुनौलो अवसर खेर फाल्यो। ओलावालेको पासलाई सिक्सयार्ड बक्सभित्र बसेका अन्जन विष्टले बललाई ‘टच’ गर्न नसकेपछि ह्याट्रिक गर्नबाट चुक्न पुगे। यद्यपी ८२ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका निशान लिम्बुले गोल गर्दै मनाङले पुलिसलाई ३–१ को जित निकाल्यो। ओलावालेको प्रहारलाई पुलिसका गोलकिपरबाट रिवाउण्ड भएको बललाई लिम्बुले फष्टबारबाट गोल गरेका थिए। मनाङले ६ फ्रिकिकको अवसर पाउँदा तीन कर्नर प्राप्त गरेको थियो। पुलिसले चार कर्नर र तीन फ्रिकिकको अवसर पाउँदा समेत सदुपयोग गर्न चुक्यो।

शहीद स्मारक ए डिभिजन लिगमा घरेलु मैदानमा जितसँगै शीर्षस्थानमा उक्लिँदा कप्तान अन्जन विष्ट प्लयेर अफ दि म्याच घोषित भए। नेपाल पुलिस क्लबका निरकुमार राई इर्मजिङ खेलाडी घोषित भए। उनीहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे)पुरस्कार प्रदान गरेका थिए। मनाङले अब पोखराकै मैदानमा ब्रिगेड ब्वाईजसँग खेल्ने छ।

प्रकाशित: ३ पुस २०७८ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App