१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

तेस्रो दिन रविको अग्रता

रवि खड्काले सूर्य नेपाल काठमाडौं ओपनमा बुधबार तेस्रो दिनको खेल सकिँदा तीन प्रो गल्फरलाई दुई स्ट्रोकले पछि पार्दै शीर्षता कायम गरेका छन्।

पार–६८ को रोयल नेपाल गल्फ क्लबमा रविले तेस्रो दिन ५४ होलको खेल सकिँदा कुल सात अन्डर १९७ स्कोर बटुलेपछि अघिल्लो दिनका शीर्ष खेलाडी भुवन नगरकोटीसहित तीन प्रो गल्फरलाई पार्दै शीर्षता कायम गरेका हुन्। बुधबारको दुई अन्डर ६६ को कार्ड नै रविलाई शीर्षता कायम गर्न पर्याप्त बन्यो। भुवनले तेस्रो दिन एक ओभर ६९ को खराब प्रदर्शन गरेपछि रविलाई अग्रता लिन सहज भयो। सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत काठमाडौं ओपनमा अन्तिम  दिनको खेल बाँकी छँदा नेपाल नम्बर एक प्रो गल्फर भुवनसहित दिनेश प्रजापति र जयराम श्रेष्ठले रविलाई पछ्याइरहेका छन्।

अन्तिम दिन कुल १८ होलका खेल हुनेछन्। तेस्रो दिन दिनेशले तीन अन्डर ६५ र जयरामले एक अन्डर ६७ को कार्ड बनाए। पहिलो नाइनमा इभन पार ३४ मा खेलेका रविले दोस्रो नाइनमा भने दुई अन्डर ३२ को प्रदर्शन गरे। उनले बर्डीबाट दिनको सुरुआत गरेता पनि पहिलो नाइनमा अन्तिम होलमा बोगी खेपे। लगत्तै १०औं होलमा बर्डी प्रहार गरेका रविले १३औं होलमा पनि सफलता पाए। यता, दिनेशले भने पहिलो नाइनमा तीन अन्डर ३१ को सुरु गरेका थिए। तर, ब्याक नाइनमा उनी इभन पार ३४ मा रहे।

यस क्रममा दिनेशले तेस्रो होलमा बर्डी प्रहार गर्दा पार–५ को चौथो होलमा इगलको सफलता पाए। दशौं र १२औं होलको सेट जोगाएका दिनेशले १५औं र १८औं होलमा बोगी खेपेपछि खेलले नयाँ मोड लियो। पहिलो चरणमा अग्रता लिएका जयरामले भने फ्रन्ट नाइनमा एक अन्डर ३३ र ब्याक नाइमा इभन पार–३४ मा खेले। पहिलो चार होलमा बर्डी हिर्काउँदै जयरामले सानदार सुरुआत गरे पनि फ्रन्ट नाइनका अन्तिम तीन होलका सट खेर फाले। १०औं र १२औं होलमा बर्डीका साथ ब्याक सुरु गरेका जयराम ११औं होलमा डबल बोगी खेप्न पुगे। एकनासको लय जारी राख्न नसक्दा उनी पछि परे।

भुवनकुमार रोक्काले तेस्रो दिन पाँच अन्डर ६३ को यादगार प्रदर्शन गरेपछि पाँचौं स्थानमा उक्लिए। यससँगै ५४ होलमा उनको कुल तीन अन्डर २०१ स्कोर भएको छ। यता एमेच्योर गल्फर सुवासले दुई ओभर ७० को खराब प्रदर्शन गरेपछि छैटौं स्थानमा झरे। उनले कुल दुई अन्डर २०२ स्कोर जोडेका छन्।

धनबहादुर थापा (६८) समग्रमा इभन पार २०४ का साथ सातौंमा रहे। शुक्रबहादुर राई (६८), कुमार कामी (७१) र सञ्जय लामा (७१) कुल २०५ स्कोरका साथ संयुक्त रूपमा आठौं स्थानमा छन्। चार सटले पछाडि रहेका रमेश अधिकारी (६९) ११औं स्थानमा रहे।

त्यस्तै १२औं स्थानमा रहेका नीरज तामाङ र कृष्णमान राजवाहकले समान २ सय २१ को कार्ड छ। वसन्तराज गुरुङ, राजेन्द्र प्रधान र सूर्यप्रसाद शर्मा समान २ सय १३ स्कोरमा रहे। एमेच्योरतर्फ १३औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवासले मेजर निश्चयजंग रायमाझीमाथि १५ स्ट्रोकको अग्रता लिएका छन्। बुधबार निश्चयजंगले चार ओभर ७२ को कार्डमा खेलेपछि सुवासले अग्रता फराकिलो बनाउने अवसर पाएका हुन्। ५४ होल सकिँदा निश्चयजंग कुल १३ ओभर २१७ को कार्डमा छन्। तेस्रो स्थानमा रहेका विदुर तामाङ (७२) कुल २२४ को कार्डमा छन्।

प्रकाशित: २३ मंसिर २०७८ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App